अमेरिकामा आयोजित ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा तीनवटा अवार्ड जितेको नेपाली फिल्म ‘हल्कारा’को बिहीबार टिजर सार्वजनिक गरिएको छ । आगामी बैशाख २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्मको पौने दुई मिनेटको टिजर प्रमुख पात्र महेश त्रिपाठीको न्यारेसन (चिठ्ठी वाचन)मा बगेको छ, जहाँ वैदेशिक रोजगारीले सिर्जित समस्यालाई नयाँ कोणबाट व्यक्त गरिएको छ ।
टिजरले सशक्त दृश्यभाषाको छनक दिन्छ । विक्रम सापकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा महेश त्रिपाठी र विनिता थापा मगरको मुख्य भूमिका छ । फिल्ममा महेशले हुलाकी (राम)को चरित्र निभाएका छन् भने विनिता मियाको चरित्रमा छिन् । हुलाकी र विदेश बस्ने श्रीमानको चिठ्ठी बुझ्ने महिलाबीच पलाउने प्रेमलाई फिल्मले मुख्य विषयवस्तु बनाएको टिजरले संकेत गर्छ ।
फिल्ममा महेश र विनिताका साथै उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको पनि अभिनय छ । फिल्मलाई निर्देशक सापकोटा, विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको यो फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेका हुन् । फिल्मको सम्पादन पनि विक्रम स्वयंले गरेका हुन् ।
वासिङ्टन डीसीमा भएको नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत भएको फिल्म अन्य अन्तर्राष्ट्रिय फेस्टिभलमा पनि छनोट भएको थियो । फिल्मलाई काठमाडौँमा जीजीए ग्रुप र डीसीएनले वितरण गर्नेछन् भने काठमाडौँबाहिर एफडीले वितरणको अधिकार लिएको छ । ‘हल्कारा’ सत्य कथाबाट प्रभावित रहेको निर्देशक सापकोटाले जानकारी दिएका छन् ।

