
भारतका चर्चित कलाकार सतीश कौशिकको निधन भएको छ । उनको निधनको पुष्टि उनका साथी तथा कलाकार अनुपम खेरले गरेका हुन् । उनले लेखेका छन्, ‘जान्दछु, मुत्यु नै यो दुनियाँको अन्तिम सत्य हो । तर, यो कुरा म जीवित रहँदै मेरो जिग्री साथीको बारेमा लेख्छु भन्ने सोचेको थिइनँ । ४५ वर्षको दोस्तीमा अचानक पूर्णविराम । जिन्दगी तिमी बिना कहिल्यै पहिला जस्तो हुने छैन ।’
१३ अप्रिल १९६७ मा हरियाणाको महेन्द्रगढमा जन्मिएका सतीशको फिल्मी यात्रा उतारचढावपूर्ण रह्यो । नेशनल स्कूल अफ ड्रामा र फिल्म एन्ड टेलिभिजन इन्स्टिट्यूट अफ इन्डियामा अध्ययन गरेका उनले आफ्नो करिअरका लागि निकै संघर्ष गर्नुपर्यो । १९८० देखि फिल्ममा उनको संघर्ष सुरु भएको थियो । सन् १९८७ मा आएको फिल्म ‘मिस्टर इन्डिया’बाट भने उनलाई पहिचान मिल्यो ।
उनको अभिनयभन्दा निर्देशनमा रुचि थिए । सन् १९८३ मा शेखर कपूरको असिस्टेन्ट डाइरेक्टरको रुपमा उनले फिल्म ‘मासूम’मा काम गरेका थिए । उनले कयौं यादगार र सानदार फिल्मको निर्देशन समेत गरेका छन् । उनले निर्देशकको रुपमा ‘रूप की रानी, चोरों का राजा’बाट डेब्यू गरेका थिए । यो त्यसबेलाको बलिउडकै सबैभन्दा महंगो फिल्म थियो, जसको निर्माता बोनी कपूर थिए ।
सतीशले ‘तेरे नाम’, ‘कागज’, ‘हम आपके दिल में रहते हैं’, ‘कर्ज’, ‘मुझे कुछ कहना है’ जस्ता सफल फिल्मको निर्देशन गरिसकेका छन् । उनी चाँडै ‘कागज २’ निर्देशन गर्ने तयारीमा थिए । उनी निर्देशनमा जति सक्षम थिए, अभिनयमा पनि उतिक्कै अब्बल थिए । उनले ‘दीवाना मस्ताना’, ‘राम लखन’, ‘दुल्हन हम ले जाएंगे’, ‘उडता पञ्जाब’, ‘स्वर्ग’ जस्ता सय बढी फिल्ममा अभिनय गरेका छन् ।
पर्दामा आफ्नो कमेडी टाइमिङले दर्शकलाई हँसाउने सतीशको व्यक्तिगत जीवन भने अत्यन्त दुःखले भरिएको थियो । दुई वर्षको उमेरमा छोरा शानूको निधनले उनी लामो समय विक्षिप्त भएका थिए । पछि उनको घरमा छोरी (वंशिका)को जन्म भएको थियो । सतीशले छोरीको जन्मको खुसी साट्दै एक अन्तर्वार्तामा भनेका थिए, ‘छोरीको जन्म हाम्रो लामो र दर्दनाक प्रतिक्षाको अन्त्य हो ।’
सतीशको स्वास्थ्य अवस्था ठीक थियो । दुई दिनअघि मात्र उनले साथीभाईसँग मिलेर होली खेलेका थिए । जुहूमा जावेद अख्तरको होली पार्टीमा उनी सहभागी भएका थिए भने आफ्नो ट्विटरमा होलीको रंगमा रंगिएको तस्विर समेत शेयर गरेका थिए । उनको निधनले बलिउड नै स्तब्ध बनेको छ । उनले बलिउड फिल्म उद्योगलाई आफ्नो अभिनय र निर्देशनबाट ठूलो गुन लगाएका छन् ।

