
‘मञ्जरी’ फेम्ड निर्देशक गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘जुलेबी’को फर्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधबार ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको पोस्टर कलात्मक छ । फिल्मले महिलाको संवेदना, कोमलता, इच्छा र करुणालाई मुख्य विषयवस्तु बनाएको पोस्टरले बुझाउँछ । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भूमिका रहेको फिल्ममा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतको पनि अभिनय छ । चारजना नारी पात्रको कथालाई उठान गरेको फिल्मको निर्माता आभा शर्मा नेपाल हुन् । ए फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन रहेको छ ।
जाटवेद बनर्जीको गीतमा संगीत रहेको यस फिल्मको कार्यकारी निर्माता नविन भट्ट हुन् । एथोलजी विधामा बनेको फिल्ममा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको निर्देशक पाण्डेको दाबी छ । उनले पछिल्लो पटक फिल्म ‘गाँजाबाजा’को निर्देशन गरेका थिए, जुन नामका कारण निकै विवादित बनेको थियो । यद्यपि, फिल्मले भने समीक्षक र दर्शकबाट राम्रो प्रशंसा कमाएको थियो ।

