गत कात्तिक महिनादेखि नेपाली फिल्मको बजार लगभग डामाडोल बनेको थियो । माघ अन्तिमसम्म प्रदर्शनमा आएका कुनै नेपाली फिल्मले लगानीको एक तिहाइ पनि उठाउन सकेनन् । बरु, यही बजारमा हलिउड र बलिउडका फिल्मले करोडौंको कमाई गरे । फागुन पहिलो हप्ता प्रदर्शनमा आएको फिल्म ‘फूलबारी’ले केही सन्तोषजनक व्यापार गरेको भएता पनि त्यो अपेक्षाअनुरुप थिएन ।
यसैले फिल्म क्षेत्रकै आशा फागुन १९ गतेका दुई ठूला फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’मा थियो । एउटा ब्रान्ड फिल्मको सिरिज र अर्को स्टार पावर भएका अभिनेताको फिल्म भएकाले घरेलू बजार लयमा फर्किने विश्वास धेरैमा थियो । ‘छक्का पञ्जा ४’ले त्यो आशा र विश्वासलाई निराशामा बदल्न दिएको छैन । तर, मेगास्टार भनिएका अनमोल केसीको फिल्मले भने दम तोडिसकेको छ ।
‘छक्का पञ्जा ४’ पहिलो हप्तामा १० करोड कमाउने रफ्तारमा रहँदा ‘छड्के २’ भने हलबाट नै उत्रिने अवस्थामा पुगेको छ । केही मल्टीप्लेक्सहरुले त फिल्मलाई उतारिसकेका छन् । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले बुधबारदेखि फिल्मलाई हटाएको छ । ‘छड्के २’को प्रायः शो दर्शक अभावले लगालग ‘क्यान्सिल’ गर्नुपर्ने अवस्था आएपछि क्यूएफएक्स चेनले फिल्म हटाएको हो ।

अनमोलको स्टारडमले नै फिल्मको इनिसियल व्यापार आक्रामक हुन्छ भन्ने गरिन्छ । यसअघि केही फिल्मको हकमा यो देखिएको पनि हो । तर, ‘छड्के २’ इनिसियल व्यापारमै दयनीय देखियो । फिल्मको पाँच दिने कलेक्सन यतिसम्म कमजोर छ कि त्योभन्दा राम्रो कमाई जयकिशन बस्नेतको फिल्मले गर्छन् । ‘छड्के २’को कमजोर व्यापारले अनमोलको स्टारडममाथि नै प्रश्न उठाएको छ ।
हुन त फिल्म स्टार पावरको बलमा चल्ने होइन । इनिसियल व्यापारमा कलाकारको स्टार पावरले धेरथोर काम गर्ला तर लामो यात्रा गर्न फिल्म आफैंमा बलियो हुनुपर्छ । ‘छड्के २’ यी दुवै कुरामा चुक्यो । अनमोलको स्टारडमले हलमा दर्शक तानेन नै, झुर समीक्षा आउँदा हेर्ने मन बनाइरहेका दर्शकको जाँगर पनि हरायो । अन्ततः अनमोलको करिअरकै सबैभन्दा डिजास्टर फिल्म बनेको छ ।
अनमोल के आधारमा ‘छड्के २’मा काम गर्न तयार भए ? समीक्षक र दर्शकले त्यो नै बुझ्न सकेका छैनन । न उनको चरित्र बलियो छ न त कथावस्तु छेउ-टुप्पोको छ । उनले ५० लाखको लोभमा फिल्म गरेको हुनसक्ने बुझाई धेरैको छ । उनी जस्ता आशालाग्दा कलाकारले नेपाली फिल्मप्रति दर्शकको विश्वास नै गुम्ने फिल्म गर्नु अत्यन्त दुखद् हो । यसले उनको करिअर संकटमा पार्न सक्छ ।
‘छड्के २’ समीक्षात्मक र व्यापारिक रुपमा कमजोर हुँदा ‘छक्का पञ्जा ४’लाई लोट्री लागेको छ । अनमोलको स्टारडमको प्रभावले शुक्रबार र शनिबार ‘छक्का पञ्जा ४’को व्यापार अपेक्षाकृत नहुने एकखालको आँकलन दीपकराज गिरी समुहको थियो । तर, न अनमोलको स्टारडमको प्रभाव हलमा देखियो न ‘छड्के २’ राम्रो निस्कियो । अनि त, ‘छक्का पञ्जा ४’लाई पैसा छाप्न कसले रोक्ने ?

