
साउथ तथा बलिउड फिल्मकी अभिनेत्री तमन्ना भाटियाले यसपालिको होली नेपालमा मनाएकी छन् । उनले मंगलबार साँझ आफ्नो इन्स्टाग्राममा अविरसँग रमाइरहेको केही तस्विरहरु पोस्ट गर्दै आफू नेपालमा रहेको जनाएकी हुन् । उनले लेखेकी छन्, ‘ह्याप्पी होली फ्रम नेपाल ।’ तस्विरको पृष्ठभूमि हेर्दा तमन्ना काठमाडौं बत्तिसपुतलीस्थित पाँचतारे होटल द्वारिकामा बसेको बुझ्न सकिन्छ ।
सम्भवतः उनको पहिलो नेपाल भ्रमण हो । उनी छुट्टी मनाउन नेपाल आएकी हुन् वा अन्य कुनै उद्देश्यले, त्यसबारेमा भने जानकारी प्राप्त भएको छैन । न त उनले नै नेपाल भ्रमणबारे जानकारी गराएकी छन् । फिल्म ‘बाहुबली’को दुईवटा सिरिजमा काम गरेपछि नेपालमा समेत उनको राम्रो फ्यान फलोइङ छ । गत सेप्टेम्बरमा उनी अभिनीत फिल्म ‘बबली बाउन्सर’ प्रदर्शनमा आएको थियो ।
तमन्नाले करिअरको सुरुवात सन् २००५ मा हिन्दी फिल्म ‘चाँद सा रोशन चेहरा’बाट गरेकी थिइन् । यसपछि उनले साउथ फिल्ममा काम गर्न थालेकी थिइन् । सन् २०१३ मा फिल्म ‘हिम्मतवाला’बाट बलिउडमा कमब्याक गरेकी उनी बलिउडभन्दा साउथमा सफल मानिन्छिन् । एक फिल्मका लागि ५-६ करोड पारिश्रमिक बुझ्ने तमन्नाले साउथका अधिकांश सुपरस्टारसँग काम गरिसकेका छन् ।

