आज रङहरुको पर्व अर्थात् होली (फागु पूर्णिमा) । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन यो पर्व हर्षोल्लासपूर्वक मनाइने गरिन्छ । एकआपसमा रङ तथा अबिर दलेर खुसी साटासाट गर्दै यो पर्व मनाइन्छ । धार्मिक, साँस्कृति तथा सामाजिकको रुपमा पनि विशेष महत्त्व बोकेको होली पहाडी जिल्लाहरुमा आज मनाइएको छ भने तराईका जिल्लाहरुमा भोलि अर्थात मंगलवार मनाइँदैछ ।
होलीको रौनकबाट कलाकारहरु पनि टाढा हुन सकेका छैनन् । आज धेरैले परिवार तथा साथीभाईहरुसँग मिलेर होली मनाइरहेका छन् भने कतिले सार्वजनिक कार्यक्रममा सहभागी भएर पनि होलीको मज्जा उठाएका छन् । आगामी चैत १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रेमा’का मुख्य नायक अरुण क्षेत्री र नायिका शुभेक्क्षा खड्का पनि होलीको रंगमा रंगिएका छन् ।
फिल्मको प्रचार अभियान स्वरुप शनिबार थापाथलीस्थित यूएन पार्कमा खिचिएको तस्विरहरुमा उनीहरु कतै एकअर्कालाई विभिन्न रंग लगाउँदै देखिएका छन् भने कतै रोमान्टिक अवतारमा प्रस्तुत छन् । उनीहरुको जोडी गजब सुहाएको देखिन्छ । निर्देशक तथा निर्माता गोविन्द सिंह भण्डारीले फिल्मको प्रचार-प्रसारमा होलीले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले फोटोसुट गरिएको बताए ।
काठमाडौं, धनगढी र कर्णालीमा छायांकन भएको फिल्ममा अरुण र शुभेक्क्षाका अलावा सृष्टि श्रेष्ठ, विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) लगायतको अभिनय छ । सामर्थविक्रम थापाको कार्यकारी निर्माता रहेको फिल्मलाई निर्देशक भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् ।
फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउन्ड स्कोर र ५.१ मिक्सिङ, कृष्ण भण्डारीको सम्पादन र महेश पौडेलको डीओपी छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मलाई काठमाडौं उपत्यकामा जीजीए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

