
२०७८ सालको मंसिर ३ गते अभिनेता पल शाह एक फिल्ममा अनुबन्ध भएका थिए । निर्माता करण सिंहले उनीसँग सम्झौता गरेका थिए । त्यसबेला निर्देशक र फिल्मको नाम लुकाइएको थियो । केही दिनपछि फिल्मको निर्देशन यश कुमारले गर्न लागेको रहस्य खुल्यो । तर, फिल्म सुटिङमा नजाँदै पल एक घटनाका कारण कानुनी झमेलामा फसे । र, फिल्मको निर्माण पनि अन्योल बन्यो ।
यही फागुन १५ गते पल सम्पूर्ण मुद्धाबाट सफाइ पाएर एक वर्षमा जेलमुक्त भए । उनी छुटेसँगै यशले फिल्मको तयारी सुरु गरेका छन् । तर, के पलले अब यशको फिल्म गर्लान् त ? चासो धेरैमा छ । यश भने पलले आफ्नै फिल्म पहिला गर्नेमा पूर्ण विश्वस्त छन् । कारागार पुगेर भेट गर्दा पलले छुटेपछि आफ्नो फिल्ममा काम गर्ने वचन दिएको उनले हालै एक टीभी अन्तर्वार्तामा बताएका छन् ।
यशले भनेका छन्, ‘मैले उहाँलाई त्यो घटना घट्नुभन्दा अगावै फिल्ममा साइन गराएको थिएँ । फिल्मको नाम ‘ए मन सुटुक्क भन्’ हो । म अमेरिकामा हुँदा निर्माता करण भाईले पलसँग सम्झौता गर्नुभएको थियो । म अमेरिकाबाट आएपछि पल भाईलाई भेट्न कारागार पुगेको थिएँ । त्यसबेला उहाँले काम गर्छु भनेर वचन दिनुभएको थियो । मेरै फिल्म पहिला खेल्नुहुन्छ भन्नेमा विश्वस्त छु ।’
पल शाहका लागि भनेर आफूले बुनेको कथाले उनलाई फाइदा गर्ने यशको विश्वास छ । ‘जेलबाट छुटेपछि पल भाईसँग भेट भएको छैन । किनकि, भेट्नका लागि पालै आएको छैन । अब उहाँले हिजोको घटनालाई विर्सेर दर्शकको अगाडि आउनुपर्छ । आफूलाई फेरि काममा ‘फोकस’ गर्नुपर्छ,’ उनले भने । पलले जेल जानुअघि ‘सत्यम्’, ‘ओ सजन’सहितका केही फिल्म सम्झौता गरेका थिए ।

