Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाईं नभन्नू ल ६’ टिजरमा आँचलका खातिर आशिर्वादको लडाइँ

फिल्मीखबर, काठमाडौं, 2023/03/03

Aanchal Sharma, Aashirwad B Chhetri

 

आगामी नयाँ वर्ष अर्थात् २०८० सालको बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नाईं नभन्नू ल ६’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक १ मिनेट २५ सेकेन्डको टिजर विशेषतः एक्सन प्रधान छ । यसका अघिल्ला श्रृंखला पारिवारिक र बाल मनोविज्ञानमा आधारित भएर बने पनि छैठौं श्रृंखलामा प्रेम प्राप्तिका लागि हुने लडाइँलाई प्रस्तुत गरिएको टिजरले बुझाउँछ ।

टिजरमा डेब्यू अभिनेता आशिर्वाद बी क्षेत्रीलाई दुई फरक अवस्थामा चित्रण गरिएको छ । एउटा पाटोमा उनी रोमान्टिक अवतारमा चित्रित छन् भने अर्को पाटोमा एक्सन गर्दै देखिएका छन् । अभिनेत्री आँचल शर्माको प्रेम पाउन उनले गरेको संघर्षपूर्ण लडाइँलाई टिजरमा प्राथमिकता दिइएको छ । टिजरमा प्रियंका कार्की, केकी अधिकारी, निखिल उप्रेतीका छोरा अथर्व पनि अटाएका छन् ।

विकासराज आचार्यद्वारा निर्देशित फिल्ममा निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन छ । ‘नाईं नभन्नू ल’ सिरिजको पर्यायझैं बनेका अनुभव रेग्मी छैठौं श्रृृंखलामा केमियो भूमिकामा छन् । सरोज खनालको पनि फिल्ममा अभिनय छ । टिजर हेर्दा निर्देशक आचार्यले ‘नाईं नभन्नू ल’ सिरिजलाई अब कथावस्तुको हिसाबले फरक बनाउने प्रयास थालेको बुझ्न सकिन्छ ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।