.jpg)
कोरियोग्राफर रेनशा वान्तवा राईको निर्देशनमा बनेको फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएका दुई फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’सँग हलमा देखाउने गरि यट्युब रिलिज गरिएको टिजरमा ज्याकी पात्रको डान्सर बन्ने सपनामा परिवारको ब्रिटिस आर्मी बनाउने सपना बाधक बन्दा आउने उतार-चढावलाई देखाइएको छ ।
फिल्म डान्सको विषयमाथि निर्माण भएको टिजरले प्रष्ट पार्छ । १९ सेकेण्डदेखि ५१ सेकेन्डसम्म समावेश गरिएको ‘डान्स मुभ’हरु आकर्षक र जबर्जस्त छन् । टिजरमा ब्याकग्राउन्ड स्कोरको काम प्रशंसनीय छ । विश्वमा नृत्यको कथामाथि धेरै फिल्म बनेको भए पनि नेपालमा पहिलो पटक हो । र, टिजर हेर्दा डान्स ड्रामा रुचाउने दर्शकलाई फिल्मले आकर्षित गर्न सक्ने सम्भावना देखिन्छ ।
आगामी बैशाख २१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका छ । फिल्ममा दुवै डान्सरको भूमिकामा छन् । उनीहरुले फिल्मका लागि लामो समय नृत्य सिकेका थिए । अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय रहेको छ ।
आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर र द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । रेनशाले नृत्यको विषयमाथि फिल्म बनाउन चुनौतीपूर्ण भए पनि इमानदार कोशिश गरेको बताएकी छन् ।

