Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘हेभीवेट’ भिडन्त : ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ मैदानमा

फिल्मीखबर, काठमाडौं, 2023/03/03

शुक्रबार (आज)बाट दुई ठूला फिल्म ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनका लागि एकसाथ मैदानमा उत्रिएका छन् । सम्भवतः यो विगत ५/७ वर्षयताकै ‘हेभीवेट’ भिडन्त हो । किनकि, ‘छड्के २’मा हिट मेशिन मानिने अनमोल केसीको मुख्य भूमिका छ भने ‘छक्का पञ्जा ४’ आफैंमा ब्रान्ड फिल्म हो । दुई दिनसम्म होली विदा र नारी दिवसको विदा छोप्न यी दुई फिल्म भिड्न पुगेका हुन् ।

व्यापारमा ‘छड्के २’भन्दा ‘छक्का पञ्जा ४’ माथि हुने स्पष्ट छ । किनभने, यसका अघिल्ला तीन सिरिजले घरेलू बजारमा ‘रेकर्ड ब्रेक’ कमाई गरेका थिए । यो फिल्मको नामले नै दर्शकलाई हलसम्म तान्छ । तर, यसपटक अघिल्ला श्रृंखलाझैं दर्शकमा खासै उत्साह देखिएको छैन । मल्टीप्लेक्सहरुमा उच्च शोजका बाजवूद पनि बुकिङ सुखद नहुनुले बम्पर ओपनिङको सम्भावना न्यून देखिन्छ ।

 

anmol kc and deepakraj giri


हुन त ‘छड्के २’को पनि बुकिङ राम्रो छैन । प्रायः मल्टीप्लेक्सहरुमा ४० प्रतिशत शो ओगटेको फिल्मको बुकिङ हेर्दा अनमोलको करिअरकै कमजोर ओपनिङ गर्ने फिल्म बन्ने देखिन्छ । प्रचार राम्रोसँग नहुनु र ट्रेलरबाहेकका कन्टेन्ट प्रभावशाली नहुनुले पनि फिल्मप्रति दर्शकको रुचि नदेखिएको हो । यो अवस्थामा दुवै फिल्मलाई दर्शकको भीड तान्न बलियो ‘वर्ड अफ माउथ’ चाहिनेछ ।

ग्याङस्टर जनरामा निर्माण भएको ‘छड्के २’लाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानको पनि अभियन छ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ फिल्मका निर्माता हुन् ।

त्यस्तै, हेमराज विसीले निर्देशन गरेको ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, नीर शाह, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकीलगायतको अभिनय छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा दीपकराज स्वयंको कथा, पटकथा तथा संवाद छ ।