.jpg)
सुदर्शन थापाद्वारा निर्देशित फिल्म ‘प्रसाद २’ आगामी नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । भोलि ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनको अवसरमा फिल्मको ट्रेलर सार्वजनिक गरिँदैछ । त्यसको पूर्वसन्ध्यामा निर्माण पक्षले फिल्मको एक पोस्टर सार्वजनिक गरेको छ, जसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा र एक बालकलाकार प्रस्तुत छन् ।
‘प्रसाद २’मा विपिन र केकी श्रीमान्-श्रीमतीको भूमिकामा हुनसक्ने आँकलन पोस्टरबाट गर्न सकिन्छ । दुवै गम्भीर र निराश भावमा चित्रित छन् । अर्पणको हेयर स्टाइल र अनुहारको भावभंगी रोचक छ । फिल्मको स्लोगन ‘माया भन्दा ठूलो नै क छ र’ राखिएको छ । यो २०७५ सालको सफल फिल्म ‘प्रसाद’मा समावेश हिट गीतको अंश हो । फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् ।
सुभाष थापा प्रस्तुतकर्ता रहेको फिल्मले जातीयताको मुद्दालाई उठान गरेको छ । निर्देशक थापाले फिल्मको कथावस्तुले यसपटक दर्शकलाई झनै आकर्षित गर्ने विश्वास व्यक्त गरे । रंग पत्रकार सुशिल पौडेलको लेखन रहेको फिल्ममा महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको पनि अभिनय छ । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

