आगामी चैत १७ गतेबाट त्रिकोणात्मक प्रेमकथामाथि बनेको फिल्म ‘प्रेमा’ प्रदर्शनको तयारीमा छ । गोविन्द सिंह भण्डारीको निर्देशनमा बनेको फिल्ममा शुभेक्क्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ केन्द्रिय भूमिकामा छन् । फिल्ममा निर्देशक भण्डारी र विवेक घिमिरेको लगानी छ । अमेरिकाको बोस्टनमा बस्दै आएका विवेक फिल्म ‘चिनी कम रङ कडा’का निर्देशक समेत हुन् ।
सन् ८० र ९० को दशकबीचमा हुर्किएका उनलाई बाल्यकालदेखि नै फिल्मप्रति रुचि थियो । एक विन्दूमा पुगेपछि फिल्म निर्माण सम्बन्धी अध्ययन गर्ने प्रण लिएका उनले डिग्रीमार्फत् त्यसलाई पूरा पनि गरेका छन् । फिल्ममा आफूलाई नेपाली कथा भन्न मनपर्ने भएकाले ‘प्रेमा’मा लगानी गरेको उनी बताउँछन् । विदेशमा पनि नेपाली कथाहरु भेटिने तर नेपालमा जस्तो विशुद्ध नेपाली कथाहरु नभेटिने उनको अनुभव छ ।

विवेक ‘प्रेमा’को नौलो स्क्रिप्टले आफूलाई लगानी गर्न आकर्षित गरेको दाबी गर्छन् । स्क्रिप्टसँगै निर्देशक भण्डारीको काम गर्ने शैलीबाट प्रभावित भएकाले पनि फिल्ममा आफू जोडिएको उनको कथन छ । उनको डेब्यू निर्देशित फिल्म ‘चिनी कम रङ कडा’मा भण्डारी एसोसिएट डाइरेक्टरको रुपमा जोडिएका थिए । फिल्म निर्माणमा आफूलाई पहिल्यैदेखि चासो रहेको र ‘प्रेमा’को स्क्रिप्ट आएपछि निर्माणका लागि तयार भएको उनको भनाई छ ।
सबै जनराका फिल्म मनपराउने विवेक राम्रो जनराको कन्सेप्टमा स्क्रिप्ट आउँदा लगानी गर्न आफू सधैं तयार रहेको जिकिर गर्छन् । उनले ‘प्रेमा’लाई अमेरिकासहित विश्व बजारमा रिलिजको तयारी भैरहेको बताएका छन् । फिल्मको स्क्रिप्ट, कन्सेप्ट र छायाङ्कनसँगै निर्देशक भण्डारीको मिहिनेतले अहिलेसम्म बनेका प्रेमकथाभन्दा ‘प्रेमा’ फरक रहेको उनको दाबी छ ।
उनी नेपाली निर्माताले गुणस्तरीय फिल्ममा ध्यान दिन सकेको अवस्थामा नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन कुनै समस्या नहुने बताउँछन् । पछिल्लो समय विशेषत: गैर आवासीय नेपालीहरुले नेपाली फिल्मप्रति चासो देखाइरहेकाले यसलाई फिल्मकर्मीले अवसरका रुपमा लिनुपर्ने उनको सुझाव छ ।

