.jpg)
गायनमा लोभलाग्दो लोकप्रियता कमाएका प्रकाश सपूतले फिल्म ‘परदेशी २’बाट नायकको रुपमा डेब्यू गरिसकेका छन् । तर, यो फिल्मको रिलिज धकेलिएको धकेल्यै छ । अब उनी आफैं फिल्म निर्माण गर्ने तयारीमा लागेका छन् । ‘परदेशी २’ प्रदर्शन भएपछि छायांकन थाल्ने तयारीसहित उनले अहिले स्क्रिप्ट लेखिरहेका छन् । आगामी बैशाखमा उनले फिल्मको नाम घोषणा गर्न सक्नेछन् ।
यही शनिबार उनले फिल्म निर्माणको संकेत गर्दै फेसबुकमा लेखेका थिए, ‘बीचमा अलिकति अलमलिएँ । अब चाहिँ नयाँ पागलपन सुरु भएको छ । पागलपन भित्र पाक्दैछ नयाँ परिकार । प्रतिक्षा गर्नुहोला ।’ स्रोतका अनुसार, फिल्मलाई उनी आफैं निर्देशन गर्ने योजनामा छन् । गायक सपूतले यसअघि कथावाचन शैलीमा आफ्नै निर्देशनमा केही म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् ।
केही समयअघि उनले अभिनेत्री केकी अधिकारीसँग मिलेर फिल्म निर्माण गर्न लागेको खबर बाहिरिएको थियो । उनीहरुबीच यही फिल्ममा व्यावसायिक सहकार्य हुन सक्ने सम्भावना पनि रहेको स्रोतको भनाई छ । प्रकाश र केकीले केही म्यूजिक भिडियोसँगै प्रदर्शनको पखाईमा रहेको फिल्म ‘परदेशी २’मा पनि एकसाथ काम गरेका छन् । अहिले उनीहरुबीच अत्यन्त हार्दिक सम्बन्ध छ ।
दोहोरी ब्याटलबाट चर्चाको शिखरमा पुगेका प्रकाश फरक शैलीका गीत पस्कने गायक तथा सर्जकको रुपमा चिनिन्छिन् । उनको पछिल्लो गीत ‘पीर’ले राजनीतिक क्षेत्रमा ठूलै पराकम्पन ल्याएको थियो । उनका ‘बोल माया’, ‘गलबन्दी च्यातियो’, ‘पर पर छु’, ‘मेरो पनि हैन र देश ?’ आदि गीतहरु सर्वाधिक चर्चित छन् । गायनमा सफल प्रकाशको अभिनेताको रुपमा परिक्षण भने हुन बाँकी छ ।

