Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिहा भएपछि पलको प्रतिक्रिया- ‘सबैलाई धन्यवाद’

फिल्मीखबर, काठमाडौं, 2023/02/27

paul shah

 

आइतबार उच्च अदालत कास्कीले पल शाहविरुद्ध जबर्जस्ती करणीको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएपछि सोमबार विहान ११ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनी दमौलीको तनहुँ कारागारबाट रिहा भएका छन् । उनको स्वागतमा बहिनी र नजिकका साथीभाई कारागार पुगेका थिए भने कारागारबाहिर पलको रिहाइको खुसीमा प्रशंसकहरुको ठूलो भीड लागेको थियो ।

रिहा भएपछि पलले सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै ‘सबैलाई धन्यवाद’ भनेका छन् । उनी साढे १२ बजे बहिनी र साथीभाईको साथमा दमौलीबाट पोखरातर्फ प्रस्थान गरेका छन् । उनी पोखराबाट हवाई मार्गमार्फत् काठमाडौं आउने बताइएको छ । पोखरा पुग्न साँझ भएको खण्डमा भने उनी मंगलबार मात्र काठमाडौं आउने दमौली पुगेका पत्रकार गोपिकृष्ण चापागाईंले जानकारी दिए ।

जेलमुक्त भएपछि उनी अत्यन्त खुसी देखिएका थिए । उनले आफ्नो समर्थकहरुलाई हात हल्लाउँदै धन्यवाद प्रकट गरे । उनलाई उच्च अदालत पोखराले सफाइ दिएकोमा पूजा शर्मादेखि रमेश उप्रेतीसम्मले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । २०७८ सालको फागुन १५ गतेदेखि जेल जीवन विताउन थालेका पल ठ्याक्कै एक वर्षमा सबै मुद्धाबाट सफाइ पाएर रिहाइ भएका हुन् ।

गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको मुद्दामा शाहलाई २ वर्ष ६ महिना जेल सजाय र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो । त्यस फैसलाविरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन दिएका थिए । उच्चका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले नवलपुर अदालतको फैसला उल्ट्याउँदै शाहलाई सफाइ दिएको हो ।