
अभिनेत्री शिल्पा पोखरेलले निर्माता छविराज ओझाविरुद्धको मुद्धा जितेकी छन् । आइतबार काठमाडौं जिल्ला अदालतले छविले आफ्नो भागको सम्पत्ति शिल्पालाई आधा दिनुपर्ने फैसला सुनाएको छ । अदालतले वैवाहिक सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋणको आधा हिस्सा शिल्पाले बेहोर्नुपर्ने पनि फैसला गरेको छ । यसका साथै अदालतले दुवैको डिभोर्स मुद्धा पनि टुंग्याएको छ ।
छविले अदालतमा आफ्नो ऋण २० करोडमाथि देखाएको जानकारीमा छ । उनको आधा सम्पत्तिमध्ये ऋणको आधा रकम कटाएर शिल्पाले पाउनेछिन् । शिल्पाले २०७६ सालमा ओझाविरुद्ध सम्बन्ध विच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । उनले सोमबार फेसबुकमा छवि ओझाविरुद्धको मुद्धामा आफ्नो जीत भएको र अदालतबाट न्याय पाएको महसूस भएको उल्लेख गरेकी छन् ।
अदालतले शिल्पा र छविबीचको मुद्धा टुंग्याएसँगै एउटा रहस्य खुलेको छ । छविको दोस्रो श्रीमती गिताञ्जली सुनुवारबाट एक छोरा छन् । गिताञ्जलीको निधनपछि छविले धर्मपुत्रका रूपमा पाल्न छोरालाई जेठीसासुको जिम्मा लगाएका रहेछन् । शिल्पा पोखरेलले मुद्धा हालेपछि उनले छोराका नाममा एक भाग सम्पत्ति राख्न जेठीसासुलाई धर्मपुत्र फिर्ता गर्नका लागि मुद्दा हाल्न लगाएका थिए ।
तर, अदालतले धर्मपुत्रलाई अंश छुट्याउन नमिल्ने फैसला गरेको छ । अदालतले धर्मपुत्र छविले फिर्ता पाउने आदेश सुनाएको भए सम्पत्ति तीन भाग लाग्थ्यो र दुई भाग छविलाई पर्थ्यो । छविको जायजेथा र ऋणको सबै लेखाजोखा भैसकेको छ । २०७६ सालमा शिल्पाले छविविरुद्ध प्रहरी कार्यालयमा घरेलू हिंसाको मुद्धा हालेकी थिइन् । त्यसबेलादेखि दुवै अलग-अलग बस्दै आएका थिए ।
त्यस्तै, छविकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पाविरुद्ध हालेको बहुविवाहको मुद्दा पनि काठमाडौं जिल्ला अदालतले खारेज गरेको छ । हेमासँग पहिल्यै सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँड भैसकेको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन । जिल्ला अदालतमा शिल्पासँग मुद्धा हारेपछि ओझा उच्च अदालतमा निवेदन दिने तयारीमा रहेको जानकारी प्राप्त छ ।

