
अभिनेत्री सहारा कार्की र अभिनेता तथा पूर्व सञ्चारकर्मी फिरोज तिमल्सिना विवाह बन्धनमा बाँधिने भएका छन् । हाल अमेरिकामा बस्दै आएका उनीहरुले आगामी जुन २६ (असार ११ गते) मा विवाह गर्न लागेका हुन् । केही दिनअघि फिरोजले सहारालाई औंठी लगाइदिँदै विवाहको प्रस्ताव राखेका थिए । र, सहाराले विवाहको प्रस्ताव स्वीकार गरेको खुसी फिरोजले फेसबुकमा साटेका छन् ।
उनले सहारालाई विवाहको प्रस्ताव राखेको तस्विर शेयर गर्दै लेखेका छन्, ‘मैले सोधेँ र उनले ‘हुन्छ’ भनिन् । हाम्रो जीवनको नयाँ अध्याय सुरु भएको छ ।’ त्यस्तै, सहाराले पनि आफूले विवाहको प्रस्ताव स्वीकार गरेको उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘जुन व्यक्तिसँग म बुढो हुन चाहन्छु र म मेरो जीवनका बाँकी अध्याय पूरा गर्न चाहन्छु । तिमी मेरो सदाको लागि घर हौ र मेरो खुशी ।’
तुलसी घिमिरेद्वारा निर्देशित फिल्म ‘दर्पण छायाँ २’बाट सहाराले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । फिल्म असफल भए पनि उनको अभिनयको राम्रै प्रशंसा भएको थियो । तर, यसपछि उनी फिल्म अभिनयमा सक्रिय छैनन् । यही फिल्ममा काम गर्ने क्रममा उनी फिरोजसँग नजिक बन्न पुगेकी थिइन् र पछि दुवै प्रेममा डुबेका थिए । फिरोजको पनि यो फिल्ममा महत्त्वपूर्ण भूमिका थियो ।
फिरोज नेपाल रहँदा एपिवान टीभीमा कार्यक्रम निर्माता तथा उद्घोषक, ‘नेपाल आइडल’को प्रोड्युसर र ‘द भ्वाइस अफ नेपाल’को चिफ असिस्टेन्ट डिरेक्टरको रुपमा आबद्ध थिए । उनी गायक पनि हुन् । उनले ‘मेरी प्रिया’, ‘इच्छा’, ‘सुस्तरी’, ‘किन’ लगायतका गीतमा आवाज भरेका छन् । यसमध्ये ‘मेरी प्रिया’ र ‘किन’ गीतको म्यूजिक भिडियोमा उनले सहारासँग एकसाथ काम गरेका छन् ।

