Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

जन्मथलोमा जयनन्द लामाको सालिक

फिल्मीखबर, काठमाडौं, 2023/02/26

jaynanda lama

 

दिवंगत कलाकार, गायक, संकलक, निर्देशक एवं निर्माता जयनन्द लामाको स्मृतिमा उनकै जन्मथलो सिन्धुपाल्चोकको बाह्रबिसेमा सालिक स्थापना गरिएको छ । जयनन्द लामा स्मृति कोषले शुक्रबार एक कार्यक्रमका बीच बाह्रबिसे–३ धार्पाको थिङटोलमा उनको निजी जग्गामै सालिक निर्माण गरी अनावरण गरेको हो । १२ फिट अग्लो सालिक कोषले ८ लाख रुपैयाँको बजेटमा बनाएको हो ।

सालिक अनावरण कार्यक्रममा बाह्रबिसेका नगर प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङ, कलाकार बसुन्धरा धिताल, कृष्ण कँडेललगायत सहभागी थिए । अब संग्रहालय, कम्पाउण्ड बन्न बाँकी रहेको र २५ लाख बराबर लागत अनुमान गरिएको लामाका भाई प्रेम दोङले बताए । सालिक निर्माणमा बाह्रबिसे नगर र नुवाकोटको ककनी गाउँपालिकाले पनि आर्थिक सहयोग गरेको छ ।

स्वं. लामाले दर्जनौं लोकगीत गाउनुका साथै दुई सयभन्दा बढी फिल्म र टेलिश्रृंखलामा अभिनय गरेका छन् । २०३० सालमा ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका लामाले ‘छक्का पञ्जा, जय भोले, कान्छी, निशानी’ लगायतका फिल्ममा अभिनय गरेका छन् । उनले अभिनय गरेका अझै केही फिल्महरु प्रदर्शन हुन बाँकी छन्, जसमध्ये ‘ए साथी सुन’ फिल्म चैत १० मा प्रदर्शन हुँदैछ ।

लामाले ‘माया गर्छु म, कर्मको फल, यथार्थ’ आदि फिल्मको निर्देशन पनि गरेका छन् । लामो समय लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान समेत गरेका उनका  ‘कलकत्ते काइँयो, चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना’ लगायतका गीत चर्चित छन् । हृदयघातका कारण २०७८ फागुन ११ गते उनको आफ्नै गाडीमा निधन भएको थियो ।