.jpg)
कोरियोग्राफर रेनशा वान्तवा राईद्वारा निर्देशित दोस्रो फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’ आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । नेपालमा पहिलो पटक नृत्यको विषयमाथि निर्माण भएको फिल्ममा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ केन्द्रिय भूमिकामा छन् । तर, निर्माण पक्षले सुरुवाती चरणको प्रचार सामाग्रीमा धिरजलाई मात्र प्राथमिकता दिइरहेको छ ।
गत फागुन ५ गते सार्वजनिक फर्स्टलुक टिजरमा धिरजलाई डान्सरको रुपमा चित्रण गरिएको थियो । शुक्रबार सार्वजनिक दुई नयाँ पोस्टरमा पनि उनलाई मात्र स्थान दिइएको छ । जसमा शीशा अगाडि उभिएका उनी एकपट्टी डान्सर अवतार र अर्कोपट्टी ब्रिटिस आर्मीको पोशाकमा छन् । धिरजले निभाएको ज्याकी पात्र के बन्ने भन्ने अन्तरद्वन्द्वमा फसेको पोस्टरमार्फत् बुझाउन खोजिएको छ ।
आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा हुन् । फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । निर्माण पक्षले फागुन १९ गते दुई ठूला फिल्म ‘छड्के २’ र ‘कबड्डी ४’ रिलिजको मौका पारेर फिल्मको टिजर सार्वजनिक गर्ने तयारी गरेको छ ।

