.jpg)
प्रेम बोम्जन (पुष्कर लामा)ले तेस्रो पटक नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) हाँक्ने भएका छन् । २०७२ र २०७५ गरी दुईपटक संघको नेतृत्व गरिसकेका लामा बिहीबार काठमाडौंमा सम्पन्न २०औं वार्षिक साधारण सभाबाट तेस्रो पटक अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । अध्यक्षमा अन्य केहीले आकांक्षा देखाएका भए पनि अन्तिममा लामाको मात्र उम्मेदवारी परेको थियो ।
महासचिव युवराज कार्की र कोषाध्यक्ष कृष्णबहादुर थापा पनि सर्वसम्मत चयन भए । निर्वाचनमार्फत् उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल र अर्जुनप्रसाद पोखरेल, सचिवमा श्यामकुमार बराल, सदस्यहरुमा नमराज उप्रेती, लालसिंह थोकर, विनोद सुवेदी, गोपाल राय, विजय बस्याल, ईश्वर घिमिरे, रीतु राना, मनोज जोशी, अजय रेग्मी, नारायण गुरुङ र विष्णुप्रसाद घिमिरे निर्वाचित भएका छन् ।
अध्यक्ष लामाले प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु आफ्नो मुख्य एजेण्डा रहेको बताए । प्राविधिक र उनीहरुका सन्तानको शिक्षा र स्वास्थ्यमा छुटको व्यवस्था, उपचारमा आर्थिक सहयोग, फिल्म अध्ययनमा प्राविधिक र उनीहरुका सन्तानलाई विशेष छुटका लागि पहल गर्ने, आगामी कार्यकालमा प्राविधिक संघको आफ्नै भवन निर्माणको योजना रहेको उनको भनाई छ ।

