डेब्यू फिल्म ‘होस्टेल’देखि अभिनेता अनमोल केसीमाथि लागेको आरोप के हो भने उनी स्टारडममा जति पक्का अभिनयमा छैनन् । हरेक फिल्ममा उनको अभिनय स्वभाविक नभएको टिप्पणी हुने गर्छ । लुक्सको बलमा चलेको आरोप खेपिरहेका अनमोलले यही फागुन १९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘छड्के २’बाट आफूलाई अभिनयमा प्रमाणित गर्न सक्ने संकेत ट्रेलर हेर्दा देखिन्छ ।
ट्रेलरको १ मिनेट १० सेकेन्डमा अनमोलले हातमा खुँडा बोकेर क्रोधित मुद्रामा एउटा संवाद बोलेका छन्, ‘जसको तरवार, त्यसको दरवार ।’ यो दृश्यमा उनको बोल्ड आवाजले जति ‘सरप्राइज’ बनाउँछ, त्यत्तिकै बुलन्द ‘डाइलग डेलिभरी’ छ । यही दृश्यका कारण अनमोलको अभिनयको प्रशंसाले ट्रेलरको कमेन्ट बक्स भरिएको छ । धेरैले उनको लुक्स र बोल्ड आवाज पनि मन पराएका छन् ।
दुई दिनमा १३ लाखभन्दा बढी पटक हेरिएको ट्रेलरलाई सकारात्मक प्रतिक्रियाको ओइरो छ । तीन हजारको आसपास कमेन्टमा ९० प्रतिशत अनमोलको प्रशंसा मात्र छ । उनी पहिलो पटक फरक भूमिका, लुक्स र गेटअपमा प्रस्तुत भएकाले पनि दर्शकलाई रोचक लागेको छ । ट्रेलरलाई मिलेको प्रतिक्रिया हलमा फिल्म प्रदर्शनपछि पनि प्राप्त भए बक्सअफिसमा सुनामी ल्याउन सक्छ ।
मनाङको प्राकृतिक स्रोतमा एकाधिकार जमाउन चाहने तीन ग्याङबीचको द्वन्द्वमा केन्द्रित रहेको फिल्ममा अनमोल ग्रीन ग्याङको नाइकेको भूमिकामा छन् । उनले पहिलो पटक ग्याङस्टर चरित्र निर्वाह गरेका हुन् । उनलाई लभर ब्वाईको छवि मेट्ने यो जति ठूलो अवसर हो, त्यत्तिकै चुनौती अभिनयमा अब्बल हुनु पनि हो । किनकि, ग्याङस्टर चरित्रमा सशक्त अभिनय अनिवार्य सर्त हो ।

