नेपाली फिल्म क्षेत्रमा भाइचारा, एकता र साथ-सहयोगको भावना नभएको गुनासो सर्वाधिक सुन्नमा पाइन्छ । हुन पनि यहाँ सहयोगी भावनाभन्दा बढी त खुट्टा तान्ने प्रवृत्ति हावी छ । एउटाको राम्रो भए अर्कोलाई भोक-निन्द्रा लाग्दैन । प्रायःले देखावटी रुपमा भयंकर सहयोगी सम्बन्ध देखाउने प्रयास गर्छन् तर पिठ्यूँ पछाडि खेदो र खोइरो खनिन्छ । हातेमालोको भावना डाइनोसर झैं लोप हुँदैछ ।
नेपाली फिल्मकर्मीहरु कसरी एकअर्कासँग टाढा हुँदैछन् भन्ने कुरा प्रदर्शनरत फिल्म ‘फूलबारी’को सेलिब्रेटी शोमा सेलिब्रेटीहरुकै उपस्थिति नहुनुले पनि बुझाउँछ । फागुन ९ गते बिग मुभिजमा फिल्मको सेलिब्रेटी शो राखिएको थियो । जसमा अभिनेत्री प्रियंका कार्कीले आफ्ना समकालिन कलाकारहरुलाई निम्तो गरेकी थिइन् । तर, उनको निमन्त्रणा स्वीकार गरेर दुई-तीनजना मात्र पुगे ।
फिल्मको मध्यान्तर हुँदासम्म पनि प्रियंका आफू नजिकका कलाकार साथीहरुको पखाईमा आँखा डुलाइरहेकी थिइन् । केहीलाई उनले फोन र म्यासेज पनि गरिरहेकी थिइन् । तर, कसैले पारिवारिक कारण देखाए भने कसैले छायांकनका कारण आउन नसक्ने जानकारी गराए । आफू नजिककै साथीहरु आफ्नो निमन्त्रणा स्वीकार गरेर फिल्म हेर्न नआइदिँदा उनी निराश देखिएकी थिइन् ।
आफू नजिकका कलाकारले फिल्म हेरेर राम्रो बोलिदिँदा अझ प्रचार हुने र हलमा दर्शक बढ्ने आश उनलाई थियो । तर, उनलाई साथीहरुकै साथ मिलेन । यसमा दोष उनको पनि छ । किनभने, प्रियंका पनि आफू नजिकका साथीहरुको फिल्मको प्रिमियर या सेलिब्रेटी शोमा खासै पुग्दिनन् । एक हातले ताली बज्दैन भनेझैं साथ-सहयोग पनि दोहोरो हुनुपर्छ । यो कुरा प्रियंकाले बुझ्नु पर्छ ।
सेलिब्रेटीहरुको लगभग शून्य उपस्थिति हुँदा खल्लो बनेको सेलिब्रेटी शोमा प्रियंकालाई साथ दिन उनकी सासुआमा तथा पूर्व बैंकर रविना देशराज जोशी भने पुगेकी थिइन् । फिल्म हेरेपछि रविनाले प्रियंकाको अभिनय क्षमताको खुलेरै तारिफ गरिन् । आफ्नो सन्तानलाई संस्कार सही दिनुपर्छ भन्ने सन्देश फिल्मले दिएको बताउँदै उनले मध्यान्तरपछि आफूले आँसु रोक्न नसकेको बताइन् ।

