
‘कबड्डी’, नामै काफी छ । यो नामको खेल बरु त्यत्ति प्रख्यात छैन, जति फिल्म छ । फिल्मी भाषामा भन्ने हो भने यो नाम बडेमानको पैसाको रुख हो । र, निर्देशक रामबाबु गुरुङको समुहले चौंथो श्रृंखलासम्ममा ‘कबड्डी’ नामको रुखबाट मनग्य पैसा टिपिसकेका छन् । यो नामको अन्तिम पार्ट भनेर प्रदर्शन गरिएको ‘कबड्डी : द फाइनल म्याच’ले त सर्वाधिक कमाईको रेकर्ड नै बनाएको छ ।
काजी (दयाहाङ राई)को जोडी बाँधिदिएर फाइनल म्याचलाई अन्त्य गरिएको थियो । त्यसैले अब ‘कबड्डी’का अन्य श्रृंखला निर्माण हुँदैन भन्ने बुझाइ धेरैमा छ । तर, फिल्मका लेखक तथा कलाकार उपेन्द्र सुब्बाले अर्को वर्ष ‘कबड्डी ५’ निर्माण हुने घोषणा गरेका छन् । सञ्जय गुप्ताको पोडकास्टमा उनले स्क्रिप्ट लेखनको काम सुरु नभए पनि चाँडै काम सुरु गर्ने तयारी भैरहेको बताएका छन् ।
‘कबड्डी’मा झाँक्रीको भूमिका समेत निर्वाह गरेका उपेन्द्रले भनेका छन्, ‘अर्को वर्ष ‘कबड्डी ५’ बन्छ नै । अहिलेसम्म फिल्मको लागि भनेर काम सुरु त भएको छैन तर सुरु गर्ने तयारी चाहिँ भैरहेको छ । फाइनल म्याचबाट सोल्टिनीको पछाडि कुदेको काजीको पार्ट मात्र सकिदिएको हो । अब अर्को कथा सुरु हुन्छ । ‘कबड्डी ५’मा काजी, छन्तेल र विके छुट्दैनन् । बाँकी पात्र चाहिँ सबै छुट्छन् ।’
कवि समेत रहेका सुब्बाले अब आफूले अभिनय नगर्ने बताएका छन् । अभिनय आफ्नो क्षमताबाहिरको कुरा रहेको उनको आत्म स्वीकारोक्ति छ । उनले ‘कबड्डी’को दोस्रो श्रृंखलादेखि निर्देशक गुरुङलाई स्क्रिप्ट लेखनमा सघाउँदै आएका छन् । हाल प्रदर्शनरत फिल्म ‘फूलबारी’मा पनि उनको पटकथा लेखन छ । उनले निर्देशनमा डेब्यू गरेको फिल्म ‘जारी’ बैशाख १ गतेबाट प्रदर्शन हुँदैछ ।

