गत कात्तिकमा प्रदर्शित ‘महापुरुष’पछि माघसम्म एक दर्जन बढी फिल्म प्रदर्शन भए । त्यसमध्ये केही फिल्ममा स्टार कहलिएका कलाकार समेत थिए । तर, कुनै फिल्मले सुस्ताएको बजार उठाउन सकेनन् । यसको कारण एउटै हो, दर्शकको अपेक्षामा खरो नउत्रनु । ट्रेलर गर्जेको बाघ जस्तो तर फिल्म भने बिग्रेको बाघको प्रतिमा जस्तो हुँदा नेपाली फिल्ममा दर्शकको खडेरी लागेको हो ।
यही शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘फूलबारी’प्रति भने दर्शकको अपेक्षा र फिल्म क्षेत्रको आशा दुवै उच्च थियो । ‘कबड्डी’ समुहको फिल्म भएकाले दर्शकमा यो फिल्मप्रति अपेक्षा उच्च रहनु स्वभाविक थियो । फिल्मले दर्शकको चित्त पनि बुझाएको छ । र, यसको प्रभाव फिल्मको व्यापारमा देखिएको छ । फिल्मले सुरुदेखि आक्रामक व्यापार नगरे पनि ‘महापुरुष’पछिकै सुखद छ ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले बाँड्ने शोले फिल्मको अवस्था कस्तो छ भन्ने लगभग थाहा हुन्छ । किनकि, क्यूएफएक्स चेनले व्यापारको आधारमा शो घटबढ गर्ने गर्छ । ‘महापुरुष’पछि प्रायः नेपाली फिल्मको आइतबारबाट शो ह्वात्तै घटेको थियो । तर, ‘फूलबारी’लाई क्यूएफएक्स चेनले दोस्रो हप्ताका लागि ३३ शो प्रदान गरेको छ । यो संख्या प्रदर्शनको पहिलो दिनको नजिक हो ।
वितरक मनोज राठी फिल्मको व्यापार एकै गतिमा रहेको बताउँछन् । ‘फिल्मले राम्रै गरिरहेको छ । विदाबाहेक फिल्मको व्यापार एउटै ‘रेसियो’मा छ । व्यापार घटेको भने छैन’, उनले भने, ‘फिल्म लामो रेडको घोडा बन्ने देखिएको छ । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण पहिलो हप्ताभन्दा दोस्रो हप्ता अझ राम्रो हुन्छ भन्ने लागेको छ ।’ उनले फिल्मको कलेक्सन भने खुलाउन चाहेनन् ।
रामबाबु गुरुङ निर्देशित फिल्मले परिवारभित्रको कथा बोलेको छ । फिल्मको गति सुस्त भएता पनि कलाकारको अभिनय, संवाद, छायांकन, गीतसंगीत बलियो छ । पारिवारिक दर्शकलाई आकर्षित गरिरहेको फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतको अभिनय रहेको छ ।

