Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कति सशक्त छ ‘छड्के २’को ट्रेलर ?

फिल्मीखबर, काठमाडौं, 2023/02/23

सन् २०१३ को औसत हिट फिल्म हो, ‘छड्के’ । औसत यसकारण कि फिल्मको इनिसियल व्यापार तगडा थियो । फिल्म लामो रेसको घोडा बन्न भने सकेको थिएन । अभिनयका पारंगत मानिने विपिन कार्की, सौगात मल्ल, दयाहाङ राई, नम्रता श्रेष्ठ, अर्पण थापा जस्ता कलाकारहरुको अभिनय रहेको फिल्मले नेपालमा ग्याङस्टर जनराको पनि राम्रो बजार छ भन्ने एउटा मानक स्थापित गरेको थियो ।

‘छड्के’ रिलिजको करिब १० वर्षपछि यसको दोस्रो श्रृंखला निर्माण भएको छ र यही फागुन १९ गतेबाट प्रदर्शन हुँदैछ । ‘भर्सन टू’मा अघिल्लो श्रृंखलाका रोविन तामाङबाहेक अरु कलाकार दोहोरिएका छैनन् । यसपटक सुपरस्टार अनमोल केसीको काँधमा फिल्म छ । र, उनी भएपछि एउटा कुरा के स्पष्ट छ भने फिल्मको इनिसियल व्यापार लरोतरो हुने छैन । त्यो तागत अनमोलको स्टारडममा छ । उनले यसअघिका फिल्मबाटै यो कुरा प्रमाणित गरिसकेका छन् ।

 

Anmol Kc


फिल्म प्रदर्शन हुन १० दिन बाँकी हुँदा बुधबार निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्‍यो । प्रायः नेपाली फिल्मको ट्रेलर प्रदर्शनको २०/२५ दिन अगाडि नै सार्वजनिक हुने गर्छ । तर, ‘छड्के २’को यसअघि सार्वजनिक टिजर खासै नरुचाइएकाले निर्देशक निगम श्रेष्ठले सशक्त ट्रेलर निकाल्न समय लिएका थिए । र, सार्वजनिक ट्रेलर हेर्दा एउटा हिन्दी कहावत सान्दर्भिक हुनसक्छ, ‘देर आए दुरुस्त आए ।’

ट्रेलरभन्दा लामो टिजरमा अनमोलको डाइलग डेलिभरी र एक्सप्रेसनमा समस्या देखिएको थियो । आवाजले पनि साथ दिएको थिएन । तर, ट्रेलरमा उनको लुक्ससँगै डाइलग डेलिभरी, एक्सप्रेसन, हाउभाउ र आवाज जबर्जस्त छ । उनको बोल्ड आवाजले ‘सरप्राइज’ बनाउँछ । लभर ब्वाईको रुपमा रुचाइएका उनी ग्याङस्टर चरित्रमा पनि जम्न सक्छन् भन्ने संकेत ट्रेलरले दिएको छ ।

ट्रेलरमा ठाउँ पाएका प्रायः पात्रहरु रोचक छन् । उनीहरुको गतिविधि, लवज र गेटअप नौलो लाग्छ । अनमोल र रेशा आले मगरको केमेस्ट्री गजब छ । ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई थप सशक्त बनाएको छ । युवापुस्तालाई लक्षित गरेर तयार पारिएको ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता र कौतुहलता मात्र जगाउँदैन, अपेक्षा पनि चुल्याउने देखिन्छ । निर्माण पक्षका लागि यो फलामको चिउरा चपाउनुभन्दा कम चुनौतीपूर्ण होइन ।

ग्याङस्टर जनरा निर्माणको हिसाबले चुनौतीपूर्ण मानिन्छ । बजेट पनि अन्य जनराको तुलनामा बढी हुन्छ । यसैले नेपालमा ग्याङस्टर फिल्म विरलै बन्ने गर्छन् । तर, यो जनराका दर्शक उल्लेख्य छन् । विशेषगरी, युवापुस्ता यसप्रकारका फिल्म हेर्न रुचि राख्छन् । ‘छड्के २’ कथावस्तु र प्रस्तुतीकरणको हिसाबले अब्बल भएको खण्डमा व्यवसायिक सफलतासँगै ग्याङस्टर जनराको पनि पकड बन्नेछ ।