फिल्म रिलिज भएपछि कलाकारदेखि निर्देशकसम्मले क्यामेराधारी मिडियाकर्मी बोकेर दर्शक भेट्न हल-हल चहार्ने लहड झैं छ । पर्दाको कलाकार आँखा अगाडि देख्दा दर्शकहरु फोटोका लागि झुम्मिन्छन् अनि त्यही भीड देखाएर फिल्म चलेको डंका पिटिन्छ । अचेल कलाकारहरु हल पुगेर दर्शकसँग गाला जोडेको फोटो नखिचेसम्म त फिल्मै नचलेको जस्तो देखिने अवस्था आएको छ ।
तर, शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘फूलबारी’का कलाकारहरुलाई हल पुगेर दर्शक भेट्ने फुर्सद समेत छैन । बलियो ‘वर्ड अफ माउथ’ले हलमा दर्शक तानिरहेको अवस्थामा फिल्मका कलाकारहरु भने कोही छायांकनमा त कोही विदेश भ्रमणमा छन् । तथापि, कलाकारहरु पाखापाखा भए पनि दर्शकहरुले फुर्सद निकालेरै फिल्म हेरिरहेका छन् । यसैलाई भनिन्छ फिल्मको शक्ति ।
.jpg)
‘फूलबारी’बाट अभिनयको वाहवाही बटुलिरहेका अभिनेता विपिन कार्की अहिले जनकपुरमा फिल्म ‘भगवत् गीता’को छायांकनमा व्यस्त छन् । बिहीबार प्रिमियरका लागि काठमाडौं आएका उनी शुक्रबार नै जनकपुर उडेका थिए । उनलाई काठमाडौं फर्किन अझै ८/१० दिन लाग्ने देखिन्छ । अभिनेता दयाहाङ राई पनि एक फिल्मको छायांकनका लागि शुक्रबार नै सिक्किम उडेका थिए ।
त्यस्तै, अभिनेत्री प्रियंका कार्की पनि शुक्रबार नै एक रियालिटी शोका लागि दुबई उडेकी थिइन् । फिल्मकी अर्की प्रमुख कलाकार अरुणा कार्की पनि काठमाडौं बाहिर छिन् । प्रदर्शनपूर्व प्रचारमा राम्रै खटिएकी अभिनेत्री शिल्पा मास्केले आफ्नो अभिनयलाई समीक्षकहरुले औसत मानेपछि हल चहार्ने मन देखाएकी छैनन् । जसले गर्दा हल पुगेर दर्शक भेट्ने फिल्मका कलाकार नै छैनन् ।
हुन त कलाकारहरुले हल चहार्दैमा फिल्म चल्ने भन्ने होइन । यदि यस्तो हुन्थ्यो भने कुनै फिल्म बक्सअफिसमा पानी विनाको माछा झैं हुँदैन थिए । हलमा दर्शक तान्न फिल्म आफैं बलियो हुनुपर्छ । तर, कलाकारहरु हल पुग्दा त्यसको केही प्रभाव भने पर्छ । कति दर्शक त कलाकारसँग भेट्न पाइन्छ भनेरै हल पुग्ने गर्छन् । दर्शक र कलाकार एकअर्कासँग नजिक हुने यो एउटा मौका पनि हो ।

