कोरियोग्राफर रेनशा वान्तवा राईद्वारा निर्देशित फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’को फर्स्टलुक टिजर सार्वजनिक गरिएको छ । आगामी बैशाख २१ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रबार युट्युबमा सार्वजनिक गरिएको फर्स्टलुक टिजरमा अभिनेता धिरज मगर मात्र फिचर्ड छन् । डान्समा रुचि राख्ने पात्रको रुपमा उनको चरित्र चित्रण गरिएको छ । उनी डान्स अभ्यास गर्दै प्रस्तुत छन् ।
करिब एक मिनेटको भिडियोमा मेकिङ क्वालिटी उच्च छ । धिरजको लुक्स र ब्याकग्राउन्ड स्कोरले फिल्मप्रति कौहुलता बढाउँछ । डान्सको कथामाथि निर्माण भएको फिल्मको निर्मातामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा छन् । आइकोर फिल्म्सको ब्यानरमा बनेको फिल्ममा जसिता गुरुङ, अरुण क्षेत्रीको पनि मुख्य भूमिका छ । यस फिल्ममा धिरज ज्याकीको भूमिकामा छन् ।
फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्र्ड रिप्पर्ज क्रुको कोरियोग्राफी छ । काठमाडौं, धरान, ललितपुरमा छायांकन भएको यो फिल्मका लागि धिरज र जसिताले करिब एक वर्ष नृत्यको तालिम लिएका थिए । पहिला फिल्मको नाम ‘आई एम ट्वान्टी वान’ राखिएको थियो । पछि चरित्र केन्द्रित बनाउन नामको अघि ‘ज्याकी’ थपिएको हो ।

