‘कबड्डी’ श्रृंखलाका निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । रिलिजको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा गरिएको प्रिमियरमा फिल्मले सानदार प्रतिक्रिया पाएको छ । फिल्म हेर्न उत्तिधेरै फिल्मकर्मीहरु नपुगेका भए पनि जति उपस्थिति भएका थिए, उनीहरुले हरेक पक्षको प्रशंसामा शब्द खर्चिए । प्रायःको आँखामा आँशु छल्किएको थियो ।
अभिनेत्री निशा अधिकारीले परिवार, छर-छिमेकीको महत्त्वलाई फिल्मले बुझाउने धारणा राखिन् । ‘परिवारमा बसेर पनि हामीले कति कुरा भुलेका छौं, त्यसलाई फिल्मले झकझकाउँछ । अभिनयको आधारमा कसैले नेपालमा ओस्कार ल्याउन सक्छ भने विपिन कार्कीले हो । फिल्ममा एकदमै राम्रो अभिनय छ । अरु कलाकारको काम पनि राम्रो छ । छायांकन अत्ति मनपर्यो,’ उनले भनिन् ।
‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले ‘फूलबारी’ हेर्दा भावुक भएको बताए । ‘मलाई राम्रो लाग्यो फिल्म । एउटा पूर्ण पारिवारिक कथा हो, जसले टुटेका सम्बन्धहरुलाई जोड्न सक्छ । हरेक कलाकारको अभिनय राम्रो छ । विपिन कार्की त छुट्टै ‘जोन’मा गएको छ,’ खनालले भने, ‘छायांकन, साउन्डको काम पनि राम्रो छ । परिवारसँग बसेर हेर्दा झन् मज्जा आउने फिल्म हो ।’
फिल्मका मुख्य अभिनेता दयाहाङ राईले धेरै ठाउँमा आफूले आँशु रोक्न नसकेको बताउँदै स्क्रिप्ट पढ्दा पनि आफूलाई दुईपटक त्यस्तै अवस्था भएको स्मरण गरे । ‘फिल्म हेरिरहँदा मलाई धेरै ठाउँमा एकदमै गाह्रो भयो । परिवारसहित फिल्म हेर्दाखेरी अझ धेरै कुरा बाँड्न सकिन्छ होला । फिल्ममा सबैभन्दा मन छोएको क्यारेक्टर चाहिँ विपिन कार्कीकै हो । उसले फाडेको छ,’ उनले भने ।
फिल्मको लेखक उपेन्द्र सुब्बाले जयनारायण सरको क्यारेक्टर विपिनले मात्र गर्न सक्छ र उसैले गर्छ भनेर लेखेको बताउँदै आफू पढेको पाँचथरको स्कूलको हेडसरको नाम सापटी लिएको जानकारी गराए । विपिनले पाको उमेरको भूमिकामा निकै मिहिनेत गरेको भन्दै उनले खुलेर प्रशंसा गरे । अभिनेत्री मिरुना मगरले फिल्म राम्रो बनेको प्रतिक्रिया दिँदै आफू धेरैचोटी रोएको बताइन् ।
फिल्मलाई आफ्नो काँधमा बोकेका अभिनेता विपिन कार्कीले बुबाको क्यारेक्टर गर्दा आफूले आफ्नो बुबालाई सम्झिएको स्मरण गरे । ‘मैले मेरो जीवनकालमा देखेका शिक्षकहरुबाट प्रभावित भएर आफूलाई प्रस्तुत गरेको छु । बुबाको क्यारेक्टर गर्दा चाहिँ आफ्नो बुबालाई सम्झिएको थिएँ । मैले निभाएको पात्रको डाइलग डेलिभरी, हाउभाउ मेरो बुबासँग धेरै नै मेल खान जान्छ,’ उनले खुलाए ।
फिल्म हेरेपछि आँशु पुस्दै निस्किएकी अभिनेत्री प्रियंका कार्कीले कति दृश्यमा आफूले ‘रिलेट’ गरेको र इमोसनल भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मैले प्रचारको क्रममा हामीले फिल्ममा आफूलाई महसूस गर्न सक्छौं भनेकी थिएँ, मैले पनि त्यो महसूस गरेँ । कति पार्टमा म हाँसेँ-रोएँ । समग्रमा मलाई सलल बगेको फिल्म जस्तो लाग्यो । असाध्धै रमाइलो लाग्यो आफ्नै फिल्म हेर्दाखेरी ।’
‘फूलबारी’मा छोटो भूमिकामा देखिएकी अभिनेत्री शिल्पा मास्केले अपेक्षा गरेभन्दा राम्रो फिल्म बनेको धारणा राख्दै कति दृश्यमा आफूलाई पाएको बताइन् । ‘म परिवारको तीन छोरीमध्येको एक हुँ । त्यही भएर पनि मैले फिल्ममा आफूलाई महसूस गरेँ,’ उनले भनिन्, ‘मैले जति अपेक्षा गरेकी थिएँ, त्योभन्दा धेरै राम्रो फिल्म बनेको छ । फिल्म हेर्दा सबैभन्दा बढी याद आमा-बुबाको आउँछ ।’

