Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘फूलबारी’ हेर्दा विपिनलाई पसिना आएको कि आँशु ?

फिल्मीखबर, काठमाडौं, 2023/02/17

bipin karki

 

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘फूलबारी’को बिहीबार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर आयोजना गरिएको थियो । फिल्मको नामअनुसार हलको प्रवेशद्वार रेडिमेड फूलले झकिझकाउ बनाइएको थियो भने तस्बिर खिच्नका लागि तयार पारिएको एक सेटमा सयपत्री फूलले फिल्मको नाम बनाइएको थियो । जसले गर्दा प्रिमियरको माहोल रोमान्चक र आकर्षक बनेको थियो ।

साँझ ६ बजे सुरु भएको प्रिमियरमा सहभागी हुन फिल्मका अभिनेता विपिन कार्की जनकपुरबाट फिल्म ‘भगवत् गीता’को छायांकन ‘ब्रेक’ गरेर काठमाडौं आइपुगेका थिए । फिल्ममा पाको उमेरको भूमिका निभाएका कारण कस्तो प्रतिक्रिया आउँछ भन्ने जिज्ञासा र छटपटीको भाव उनको अनुहारमा देखिन्थ्यो । फिल्म सकिएपछि सबैबाट तारिफ मात्र सुन्न पाउँदा उनमा खुसीको चमक देखियो ।

प्रिमियरपछि पत्रकारसँग कुराकानी गर्ने क्रममा विपिनको भिजेको अनुहारले धेरैको ध्यान खिच्यो । प्रायःले उनी फिल्म हेर्दा रोएको आँकलन गरे । हुन पनि, उनको गालामा आँशु बगेको डोब जस्तो देखिन्थ्यो । तर, उनको निधार पनि भिजेको हुँदा रोएको भन्ने आधार देखिन्न थियो । काठमाडौंको साँझपखको जाडो र त्यसमाथि हलभित्र एसी चलेकाले पसिना आउने सम्भावना पनि थिएन ।

उनको भिजेको अनुहार देखेपछि एक पत्रकारले सोधे, ‘कति रुनु भयो ?’ जवाफमा उनले कथासँग बग्दा आँशु सम्हाल्न नसकेको बताए । उनले भने, ‘मैले चाहेर पनि कथासँग बग्दा आँशु सम्हाल्न नसकेको हो । फिल्म हेरिरहँदा कतिपटक रोएँ, त्यो त गनिएन । आँखा रसाएका भने थिए ।’ विपिनको यो कुराले फिल्म हेर्दा बगेको आँशु लुकाउन उनले अनुहार धोएको हुनसक्ने बुझ्न सकिन्छ ।