.jpg)
गत कात्तिक महिनापछि केही आशातित फिल्मले समेत सुखद नतिजा जोड्न सकेनन् । एकपछि अर्को फिल्मको खराब प्रदर्शनले निराशा छाएको फिल्म क्षेत्रमा शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘फूलबारी’बाट सुखद व्यापारिक नतिजाको अपेक्षा गरिएको छ । एडभान्स बुकिङ अपेक्षाकृत नभए पनि ‘वर्ड अफ माउथ’ बलियो हुन सकेको खण्डमा फिल्मले सफलताको यात्रा गर्न सक्नेछ ।
‘कबड्डी’ श्रृंखलाका निर्देशक रामबाबु गुरुङको निर्देशन, विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की जस्ता कलाकारको अभिनय, ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया, ‘माया रैछ र’ गीतको लोभलाग्दो लोकप्रियता, बिहीबार साँझ भएको प्रिमियरमा मिलेको वाहवाहीको प्रभाव फिल्मको इनिसियल व्यापारमा पर्नसक्ने प्रक्षेपण धेरैको छ । मल्टीप्लेक्सहरुमा फिल्मले सुखद शो पाएको छ ।
पारिवारिक कथा बोलेको फिल्मले अभिभावकप्रति सन्तानको दायित्व र कर्तव्य के हो भन्ने बोध गराउँछ । सन्तानको खुट्टा टेकाउन आमा-बुबाले गर्ने त्याग र सन्तानले पखेटा हालेपछि अभिभावकप्रति भुल्ने जिम्मेवारीको कथालाई ‘फूलबारी’ले उठान गरेको छ । फिल्ममा कलाकारहरुको अभिनय, संवाद, छायांकन, संगीत पक्ष सशक्त छ । फिल्मलाई विपिन कार्कीले काँधमा बोकेका छन् ।
शिल्पा मास्के, अरुणा कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङ, गौमाया गुरुङको पनि अभिनय रहेको फिल्ममा कमल किशोर मलपानीको कथा, उपेन्द्र सुब्बाको पटकथा, कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत, जोस हेरमको छायांकन छ । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता ‘कबड्डी’का मणीराम पोखरेल हुन् ।

