Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कामिनो’मा नीति भित्रिइन्, प्रदीपसँग जोडी बाँधिने

फिल्मीखबर, काठमाडौं, 2023/02/15

niti shah

 

दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्म ‘कामिनो’मा नीति शाह भित्रिएकी छन् । केही चरणको छलफलपछि बुधबार निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । टिम, स्क्रिप्ट र चरित्र मन परेपछि उनी फिल्ममा काम गर्न राजी भएको जनाइएको छ । फिल्ममा उनको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिनेछ । यसअघि उनीहरुले केही विज्ञापनमा एकसाथ काम गरेका छन् ।

लामो समय प्रतिष्ठित ब्यानरको फिल्मको अफर समेत नकारेकी नीतिले दुई वर्ष अगाडि ‘हुतुतु’ र गत साउनमा ‘एक्स ९’ सम्झौता गरेकी थिइन् । ‘हुतुतु’ निर्माण हुने वा नहुने अन्योल छ भने ‘एक्स ९’ आगामी वर्षबाट छायांकनमा जाने सम्भावना छ । यसमा पनि उनको जोडी प्रदीपसँग बाँधिनेछ । नीतिको इच्छा नै प्रदीप वा अनमोल केसीको फिल्मबाट डेब्यू गर्ने थियो, जुन अब पूरा हुँदैछ ।

‘कामिनो’मा प्रदीप र नीतिसँगै वर्षा सिवाकोटी र राजबल्लभ कोइराला पनि फाइनल भैसकेका छन् । फिल्ममा स्टारकास्ट बलियो देखिएको छ । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि निर्माण हुन लागेको फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ । फिल्मका कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् भने पटकथा/संवाद महेश दवाडीले लेखेका हुन् ।

सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने फिल्ममा पूर्ण लामा क्रियटिभ डिरेक्टर र दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनरमा छन् । तीन करोडभन्दा बढीको लगानीमा निर्माण हुन लागेको फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस गरी चार भाषामा रिलिज गर्ने तयारी गरिएको छ । स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हुन्छ ।