Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘जेरी अन टप’को थिम पोस्टरमा अनमोलको सांकेतिक रुप

फिल्मीखबर, काठमाडौं, 2023/02/14

jerry - anmol kc

 

हेमराज विसीको निर्देशनमा बन्न लागेको फिल्म ‘जेरी अन टप’को थिम पोस्टर सार्वजनक भएको छ । मंगलवार ‘भ्यालेन्टाइन डे’को अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा एक युवालाई ट्रेकिङ गरिरहेको देखाइएको छ । तर, अनुहार चिन्न सकिन्न । फिल्ममा अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने भएकाले पोस्टरमा उनलाई सांकेतिक रुपमा चित्रित गरिएको हुनसक्ने बुझिन्छ ।

सन् २०१४ मा प्रदर्शन भएको ‘जेरी’को नेम सिक्वेलमा रुपमा निर्माण हुन लागेको फिल्ममा अनमोलसँगै आना शर्मा पनि दोहोरिएकी छन् । पुर्णिका सिजापतीको पनि फिल्ममा अभिनय रहनेछ । स्टारकास्टको छनोटले फिल्म त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको बुझाउँछ । अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको निर्माण रहने फिल्मको निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले रहेका छन् ।

फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक विसी र विश्वास तिमसिनाले लेखेका हुन् । यही फागुन अन्तिम साताबाट छायांकनमा जान लागेको फिल्मको अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्रलगायतका रमणीय स्थानमा गरिने निार्मता न्यौपानेले जानकारी दिए । फिल्ममा अन्य कलाकारका लागि निर्माण पक्षले केही दिनअघि भारतको दार्जिलिङ, सिक्किम र गान्तोकमा अडिसन गरेको थियो ।

‘जेरी’ अनमोलको करिअरको दोस्रो फिल्म हो । यो फिल्मको सफलताले उनको करिअरलाई थप उचाइँ दिलाएको थियो । यसको नेम सिक्वेलमार्फत् अनमोलको आनासँग ८ वर्षपछि र निर्देशक विसीसँग ५ वर्षपछि जुगलबन्दी भएको हो । अनमोल विना दुवैले काम गरेका कुनै पनि फिल्म सफल भएका छैनन् । यस हिसाबमा ‘जेरी अन टप’ हेमराज र आना दुवैका लागि अत्यन्त विशेष छ ।