भोलि प्रणय दिवस । प्रेम गर्नेहरुको लागि विशेष दिन । प्रेम सम्बन्धमा रहेका जोडी मात्र होइन, प्रेम गर्ने तरखरमा रहेकालाई पनि ‘भ्यालेन्टाइन डे’ विशेष हुने गर्छ । प्रेम अभिव्यक्त गर्नका लागि यो दिन उपयुक्त मानिन्छ । प्रेममा रहेका सेलिब्रेटीहरुका लागि पनि प्रणय दिवसको महत्त्व छुट्टै रहने गर्छ । तर, अभिनेता पुष्प खड्काले ‘भ्यालेन्टाइन डे’ आफ्नो सधैं खाली गइरहेको बताएका छन् ।
आफू अभिनीत फिल्म ‘मनसँग मन’ हेरेपछि प्रणय दिवसको योजनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘मेरो सबै १४ फेब्रअरी खाली गइरहेको छ । कुनै १४ त काम लागोस् भनेर पर्खिराखेको छु । यो १४ पनि मेरो खाली नै जान्छ ।’ कसैसँग मन जोड्ने इच्छा भए पनि अहिलेसम्म कोही नभेटिएको उनको भनाई छ । मन जोडिए आफूलाई जस्तो पार्टनर भए पनि हुने पुष्पले बताएका छन् ।
उनीसँगै फिल्म हेर्न पुगेकी अभिनेत्री पूजा शर्माले प्रेम सम्बन्धलाई गोप्य राख्न सक्ने खुबी पुष्पमा रहेको बताइन् । ‘मैले ऊसँग संगत गरेको छु । म कोट्याउन खोज्छु तर कहिल्यै भन्दैन । उसँग यत्रो काम गरेँ, छनक त पाइन्छ नि । अहँ ! पाइँदैन । उसले यतिसम्म गोप्य राखेको छ कि अब जुन दिन विष्फोट हुन्छ तब मात्र थाहा हुन्छ,’ उनले भनिन् । पूजाको कुरामा पुष्पले हाँसो रोक्न सकेनन् ।
यस वर्ष पुष्पका तीन फिल्म ‘कृष्ण लीला’, ‘तिम्रो मेरो साथ’ र ‘मनसँग मन’ प्रदर्शनमा आइसकेका छन् । तर, कुनै फिल्मले न राम्रो प्रतिक्रिया पाए न व्यवसायिक सफलता मिल्यो । जसले गर्दा अब आफू फिल्म छनोट गर्दा धेरै सोच्नुपर्ने अवस्थामा पुगेको उनले बताएका छन् । अहिले आशा गरिएका फिल्महरु समेत सफल नभैरहेको बताउँदै उनले यतिखेर शान्त बस्नु नै ठीक रहेको बताए ।

