अभिनयमा आफूलाई प्रमाणित गरिसकेकी अभिनेत्री नीता ढुंगाना अब निर्माताको रुपमा नयाँ परिचय बनाउँदैछिन् । उनले श्रीमान् हरिहर अधिकारीसँग मिलेर फिल्म ‘ह्रस्व दीर्घ’को निर्माण गरिरहेका छन् । एक हप्ता भारतको हैदराबादमा अवस्थित संसारकै ठूलो स्टूडियो मानिने रामोजी फिल्म सिटीमा छायांकन भएको फिल्मको अब एक महिनापछि आग्रामा दोस्रो चरणको छायांकन हुनेछ ।
रामोजी फिल्म सिटीमा साउथका चर्चित कलाकारहरु ब्रह्मानन्दम, अली, ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावतसँगै नेपाली कलाकारहरु नीता ढुंगाना, रविन्द्र झा, आर्दश मिश्रा, लक्ष्मी पौडेललगायतको सिन खिचिएको थियो । फिल्म छायांकनको क्रममा नीताको अभिनयबाट ब्रह्मानन्दम निकै प्रभावित भएको निर्देशक चन्द्र पन्तले फिल्मीखबरलाई जानकारी दिए ।

चन्द्र भन्छन्, ‘उहाँले नीताको एक सिन मात्र हेर्नुभएको थियो । उहाँ यतिसम्म प्रभावित हुनुभयो कि सम्पूर्ण टिमलाई राखेर नीताको तारिफ गर्नुभयो । उहाँले नीतालाई तिमी राम्रो मात्र होइन, धेरै नै राम्रो छौं । नेपालमा यस्तो अभिनेत्री होला भनेर मैले कल्पना पनि गरेको थिइनँ । तिमी हिरा हौं भनेर तारिफ गर्दा म आफैं भावुक भएको थिएँ । उहाँले नीतालाई एउटा गिफ्ट समेत दिनुभएको छ ।’
अली र बलिउड छायाँकार कवीरलालले पनि नीताको अभिनयको प्रशंसा गरेको चन्द्र बताउँछन् । फिल्मको प्रिमियरमा स्वास्थ्यले साथ दिएको खण्डमा ब्रह्मानन्दमले नेपाल आउने वाचा गरेको उनले बताए । कवीरलाल, अली, सुनिल, प्रदीपराज भने फिल्मको नेपाल प्रिमियरमा आउने निश्चित भैसकेको उनको भनाई छ । फिल्मको सुरु र अन्त्य ब्रह्मानन्दमबाट नै हुने चन्द्रले बताएका छन् ।
ब्रह्मानन्दमले फिल्मलाई पेन इन्डिया रिलिजका लागि आग्रह गरेको र साउथ स्टार अल्लू अर्जुनको कम्पनी अल्लू इन्टरटेन्मेन्टको टिमसँग छलफलका लागि समेत वातावरण मिलाइदिएको निर्देशक पन्तले बताए । अल्लूको कम्पनीसँग सकारात्मक कुराकानी भएको बताउँदै उनले केही दिनमा फिल्मको प्रस्तुतकर्तामा भारतको ठूलो निर्माण कम्पनी जोडिने सम्भावना रहेको बताएका छन् ।
रामोजीमा एक हप्ता छायांकन हुँदा नेपाली २ करोड आसपास खर्च भएको जानकारी प्राप्त छ । दोस्रो चरणमा आग्रामा छायांकन भएपछि तेस्रो चरणको छायांकन नेपालमा हुनेछ । फिल्मलाई पेन इन्डिया रिलिज र भारतको ठूलो ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारीमा नीता र हरिहर जुटेका छन् । फिल्मको निर्माण लागत नेपाली ४ देखि ५ करोडको आसपास हुने अनुमान गरिएको छ ।

