
अमेरिकामा आयोजित ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट फिल्म र अभिनेताको अवार्ड जितेको फिल्म ‘हल्कारा’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी बैशाख २९ गतेबाट फिल्म प्रदर्शनमा आउन लागेको हो । अमेरिकामा बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य भूमिका छ ।
‘दुर्गम गाउँमा चिठ्ठी पुर्याउने एक हुलाकीको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई फिल्मले देखाउन खोजेको छ,’ निर्देशक सापकोटा भन्छन्, ‘फिल्म सत्य कथाबाट प्रेरित हो । कथालाई सकेसम्म मनोरञ्जक हिसाबले प्रस्तुत गरिएको छ ।’ फिल्ममा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापा मगर मियाको चरित्रमा छिन् ।
महेश र बिनितासँगै उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको पनि अभिनय रहेको फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सनले निर्माण गरेका हुन् । फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो । फिल्मलाई जीजीए ग्रुपले वितरण गर्दैछ ।

