
फिल्म ‘कामिनो’मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । केही चरणको छलफलपछि शुक्रबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । फिल्ममा दुई अभिनेत्रीमध्ये एउटा महत्त्वपूर्ण भूमिकामा उनी भित्रिएकी हुन् । अघिल्लो साता वर्षाले निर्देशक र निर्मातासँग भेटघाटको एक तस्विर सामाजिक सञ्जालमा पोस्ट्याउँदै फिल्ममा काम गर्न लागेको संकेत गरेकी थिइन् ।
फिल्ममा यसअघि अभिनेता प्रदीप खड्का अनुबन्ध भैसकेका छन् । वर्षा र प्रदीपको फिल्ममा जोडी बाँधिनेछ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । लगातार आफूले खेलेका फिल्महरु असफल भैरहेको अवस्थामा प्रदीपसँगको जुगलबन्दीले वर्षालाई राहत मिल्न सक्ने देखिन्छ । दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्मको कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् ।
पूर्ण लामा क्रियटिभ डिरेक्टर रहेको फिल्म जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि बन्न लागेको हो । एक्सेस नेपाल फिल्मस्को निर्माण रहने फिल्मको नेपालका साथै ल्याटिन अमेरिकाको विभिन्न स्थानमा छायांकन हुनेछ । फिल्म प्रेम, रोमान्स र सस्पेन्सयुक्त रहने निर्देशक वलीको भनाई छ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले तयार पारेका हुन् ।
सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनर रहेको फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा रिलिज हुनेछ । फिल्मका लागि अन्य कलाकार फागुनभित्र छनोट गरिसक्ने तयारीमा निर्माण टिम छ । फिल्मको नाम धेरैलाई अनौठो लागे पनि स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हुन्छ ।

