
‘रणवीर’ फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘प्रेमा’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक १ मिनेट १५ सेकेन्डको टिजरमा फरक भौगोलिक परिवेशका दुई पात्र अरुण क्षेत्री र शुभेक्क्षा खड्काबीच पलाएको प्रेमलाई देखाइएको छ । टिजरको अन्तिममा बोल्ड अवतारमा देखिएकी सृष्टि श्रेष्ठको आगमनले कौतुहलता जन्माउँछ ।
बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, महान थापा, रोशनी स्याङबो, प्रकाश बस्नेत, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को पनि अभिनय छ । काठमाडौं, धनगढी र कर्णालीमा खिचिएको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निर्देशक भण्डारीले बताएका छन् । टिजरले पनि यो कुरा पुष्टि गर्छ ।
निर्देशक भण्डारीले विवेक घिमिरेसँग मिलेर ‘प्रेमा’ निर्माण गरेका हुन् । सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमित श्रेष्ठको ब्याकग्राउन्ड स्कोर, कृष्ण भण्डारीको सम्पादन र महेश पौडेलको डीओपी छ । चैत १७ गतेबाट प्रदर्शन हुने फिल्मलाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछन् ।

