Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आँधी तुफान २’लाई मल्टीप्लेक्सहरुले किन पत्याएनन् ?

फिल्मीखबर, काठमाडौं, 2023/02/09

aadhi tugan 2

 

भोलि शुक्रबारबाट दुई नेपाली फिल्म ‘मनसँग मन’ र ‘आँधी तुफान २’ एकसाथ प्रदर्शनमा आउँदैछन् । एकै मितिमा एकभन्दा बढी फिल्म आउँदा हल बाँडिनु स्वभाविक हो । यी दुवै फिल्मको हकमा पनि रिलिज जुघ्दाको असर हल संख्यामा परेको छ । तर, त्यो सिंगल थिएटरमा मात्र । मल्टीप्लेक्सहरुमा त ‘आँधी तुफान २’ले शो नै पाएको छैन । ‘मनसँग मन’ले भने ठीकठाक शो पाएको छ ।

नेपाली फिल्मको प्रवर्द्धन गर्नुपर्ने, प्रदर्शनमा प्राथमिकता दिनुपर्ने भन्दै दशकौंदेखि बहस चलिरहेको अवस्थामा ‘आँधी तुफान २’ले मल्टीप्लेक्सहरुमा एउटा शो समेत नपाउनुले नेपाली फिल्ममाथि कुन हदसम्म विभेद हुने गरेको छ भन्ने कुरा उजागर गर्छ । दर्शक नआएपछि फिल्म हटाउनु स्वभाविक हो । तर, शो नै नदिएर प्रदर्शनको अधिकारबाट बञ्चित गर्नु निर्मातामाथि ठूलो अन्याय हो ।

‘आँधी तुफान २’का वितरक रोहित कट्टेलले मल्टीप्लेक्सहरुसँग फिल्म प्रदर्शन गर्न आग्रह गरेको भए पनि कसैले इच्छा नदेखाएको बताए । ‘मैले एकचरण सबै मल्टीप्लेक्सहरुसँग फिल्म चलाउनुहुन्छ भनेर सोधेको थिएँ । तर, कसैले इच्छा नदेखाएपछि मैले पनि दबाव दिइनँ,’ उनले भने । चलेका कलाकार नहुनु र प्रचार गतिलो नभएकाले मल्टीप्लेक्सहरुले फिल्म चलाउन नमानेको देखिन्छ ।

महेन्द्र बुढाथोकीद्वारा निर्देशित सुपरहिट फिल्म ‘आँधी तुफान’ रिलिजको करिब १६ वर्षपछि यसको दोस्रो श्रृंखला निर्माण भएको हो । फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, सन्जित भण्डारी, मुकुन्द थापा, पुस्कर राउत, संजय खतिवडा, सिवन लामा, रवि गिरी, राजाराम गौतमलगायतको अभिनय छ । मदन घिमिरे निर्देशित फिल्मका निर्माता तथा लेखक मौनता श्रेष्ठ हुन् ।