Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा हुने नेफ्टा अवार्डको घोषणा, आयोजकलाई ट्रफी हस्तान्तरण

फिल्मीखबर, काठमाडौं, 2023/02/09

हलिउडको भूमि अमेरिकामा हुन लागेको प्रतिष्ठित ‘नेफ्टा फिल्म अवार्ड’को ११औं संस्करणको औपचारिक रुपमा घोषणा गरिएको छ । बिहीबार काठमाडौंको सोल्टी होटलमा आयोजित एक समारोहका बीच अभिनेता मदनकृष्ण श्रेष्ठले आयोजक संस्था चलचित्र प्राविधिक संघ र अमेरिकाका लागि आयोजक संस्थाका पदाधिकारीहरुलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको घोषणा गरेका हुन् ।

 

nefta award


अमेरिकाको टेक्सासमा जेठ १३ गते आयोजना हुन लागेको अवार्डको ट्रफी समेत अनावरण गरिएको छ । मदनकृष्ण श्रेष्ठले नेफ्टा अध्यक्ष पुष्कर लामालाई र लामाले फेम नेपालका विमल पछाइ र युएस खबरका ओम आचार्यलाई अवार्डको ट्रफी हस्तान्तरण गरे । नेफ्टा अवार्डमा २०७९ सालभित्र हलमा प्रदर्शन भएका फिल्मले ४२ वटा विधामा प्रतिस्पर्धा गर्ने कार्यक्रममा जानकारी गराइयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणका लागि अवार्डले ठूलो भूमिका खेल्ने बताउँदै फिल्मको माध्यमबाट भाषा, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्नु सबैको दायित्व रहेको बताए । नेपाली फिल्मको विकास नहुनुमा नयाँ ऐन नबन्नु मुख्य कारण रहेको औंल्याउँदै केसीले यसतर्फ सञ्चारमन्त्रीसँग आफूले छलफल गरिरहेको बताएका छन् ।

 

nefta award


नेफ्टा अध्यक्ष लामाले अवार्डमार्फत् फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने र फिल्मलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए । यो अवार्डले नेपाल र अमेरिकाबीच सांस्कृतिक र देशीय सम्बन्धलाई प्रगाढ बनाउन भूमिका खेल्ने उनको विश्वास छ । ‘हामीले विगतदेखि नै नेफ्टालाई विभिन्न विदेशी मुलुकमा आयोजना गरिरहेका छौं र यसको उद्देश्य नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण हो,’ उनले भने ।

अमेरिकाको लागि आयोजक संस्था फेम नेपालका अध्यक्ष बिमल पछाइले नेफ्टा अवार्डमार्फत् आफूहरुले हलिउड र बलिउडसँग पनि सहकार्य गरेर संस्कृतिलाई प्रवर्द्धन गर्नु रहेको धारणा राखे । अवार्डको सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री विधाको पुरस्कार कुनै एक हलिउड र बलिउड कलाकारले प्रदान गर्ने समेत उनले जनाए । अवार्डअघि नेपाल परेड कार्यक्रम गरिने पछाइको भनाई छ ।

 

nefta award


अवार्डको घोषणा कार्यक्रममा आयोजक संस्था युएस खबरका ओम आचार्य, आर्यन फिल्म्सका प्रमुख तथा निर्देशक रमेश एमके पौडेल, कलाकारहरु बसन्धुरा भुषाल, चैत्यदेवी, शिव श्रेष्ठ, रविन्द्र खड्का, दीपाश्री निरौला, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिल्पा मास्के, सुशिल श्रेष्ठलगायतको उपस्थिति थियो । यसअघि नेफ्टा अवार्ड दुबई, मलेसिया, हङकङ र कतारमा भैसकेको छ ।