एक अन्तर्वार्तामा निर्देशक शोभित बस्नेतले भुवन केसीको बारेमा एक वाक्य बोलेका थिए, ‘कन्ट्रोभर्सी विना बाँच्नै नसक्ने ।’ चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएदेखि होस् वा त्योभन्दा अगाडि, उनको बारेमा आएका कन्ट्रोभर्सीको चाङ हेर्दा निर्देशक बस्नेतको भनाईमा सत्यता देखिन्छ । बोर्ड अध्यक्ष भएदेखि त हरेक हप्ता वा महिना दिनमा एउटा न एउटा विवाद जन्मिरहेको छ ।
यतिबेला एक विवादित निजी कम्पनीलाई दुबईमा फिल्म फेस्टिभल गर्नका लागि व्यवस्थापकीय जिम्मेवारी दिएपछि भुवन विवादमा तानिएका छन् । उनले बोर्डलाई समेत विवादमा ल्याउने काम गरेका छन् । जसका कारण उनको राष्ट्रपति र प्रधानमन्त्रीका भन्दा धेरै सल्लाहकार समितिमा पहिरो जान थालेको छ । सल्लाहकार समितिका संयोजक र दुई सदस्यले राजीनामा दिइसकेका छन् ।

भुवनले नीर शाहको संयोजकत्वमा सल्लाहकार समिति बनाएका थिए । तर, संयोजक शाहले नै बुधबार राजीनामा बुझाएका छन् । दुबईमा हुन लागेको फेस्टिभलको विषयमा बोर्डले सल्लाहकार समितिसँग सल्लाह नै नगरेकोमा असन्तुष्ट रहेका उनले यही कारण राजीनामा दिएको हुनसक्ने जानकारीमा छ । तर, राजीनामा पत्रमा शाहले सक्रिय भूमिका निर्वाह गर्न नसकिएको बताएका छन् ।
बोर्डको सल्लाहकार समितिका सदस्य रविन्द्र खड्काले पनि माघ २० गते विभिन्न कारणहरु देखाउँदै राजीनामा बुझाइसकेका छन् । बुधबार सल्लाहकार समितिका अर्का सदस्य सुशान्त कुमार श्रेष्ठले पनि राजीनामा दिएका छन् । उनले बोर्डका कामहरु विवादित बनिरहेको र सल्लाहकार समितिले कुनै पनि निर्णयको सम्बन्धमा सल्लाह-सुझाव लिने काम नगरेको भन्दै राजीनामा दिएका हुन् ।
सम्भवतः बोर्डको इतिहासमा सल्लाहकार समितिका संयोजक र सदस्यले एकपछि अर्को गर्दै राजीनामा दिएको यो नै पहिलो पटक हो । सल्लाहकार समिति गठन भएको तीन महिनामा नै राजीनामाको ओइरो आउन थालेपछि बोर्ड अध्यक्ष केसीको कार्यशैलीप्रति प्रश्न उठ्न थालेका छन् । उनले सल्लाहकार समितिको सल्लाह-सुझाव विनै एकलौटी ढंगबाट काम गर्ने गरेको स्पष्ट देखिएको छ ।

