चलचित्र विकास बोर्डले नेपालका पूर्वी पहाडी जिल्लाहरु ईलाम, पाँचथर र ताप्लेजुङमा ‘घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम’ सञ्चालन गरेको छ । यही माघ १२ देखि १८ गतेसम्म हलको सुविधा नभएका ती क्षेत्रमा नेपाली फिल्म प्रदर्शन गरिएको थियो । जहाँ स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

फिल्म प्रदर्शनपछि स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधिहरु, व्यवसायी, कर्मचारीहरुलगायतसँग फिल्मको बारेमा जागरण ल्याउन र फिल्म हेर्न प्रोत्साहन गर्ने विषयमा छलफल समेत गरिएको बोर्डले जनाएको छ । फिल्म ‘अग्निदहन’का निर्माता कोविदशरण उपाध्याय र लिम्बू चलचित्रकर्मी संघका अध्यक्ष सूर्यप्रकाश चेम्जोङले घुम्ती सिनेमा अभियानको बारेमा आफ्नो धारणा राखेका थिए भने बोर्डका अधिकृत गिरीश शर्माले यो अभियानको उद्देश्यबारे प्रष्ट पारेका थिए ।
हलको पहुँचभन्दा टाढा रहेका शहर, बस्ती र समुदायमा पुगेर नेपाली राष्ट्रिय भाषा र स्थानिय भाषामा निर्माण भएका फिल्महरुको प्रदर्शन गरी नेपाली फिल्म हेर्ने संस्कृतिको विकास गर्नु, फिल्म निर्माण तथा प्रदर्शनमा सुधार गर्नुपर्ने सुझावहरु संकलन गर्नु, हल नभएका स्थानहरुमा फिल्मको बजारिकरण गर्नुलगायतका उद्देश्यहरु यो कार्यक्रमको रहेको बोर्डका अधिकृत हरिसिंह रैखोलाले जानकारी दिए ।
इलाम जिल्लाको सन्दकपुर गाउँपालिका, देउराली बजारमा रहेको सामुदायिक भवन, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका, घुर्बेसी पञ्चमी बजारस्थित घुर्बेसी पञ्चमी माध्यमिक विद्यालय र शान्ति बाल विकास बोर्डिङ्ग स्कूल र घुर्बेसी पञ्चमी बजारमा रहेको टहरा तथा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका, फुङलिङ बजारस्थित जिल्ला समन्वय समितिमा रहेको सिटी हलमा नेपाली फिल्महरु ‘अग्निदहन’, ‘कृ’ र ‘क्याप्टेन’ प्रदर्शन गरिएको थियो ।

नेपाल सरकारको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत ‘घुम्ती सिनेमा वा क्लबमार्फत शैक्षिक संस्थाहरुमा समेत गरी सातै प्रदेशमा सिनेमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने’ अन्तर्गत यो अभियान सञ्चालन गरिएको हो । पूर्वी पहाडी तीन जिल्लाहरुमा ‘घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान कार्यक्रम’ उत्साहजनक र प्रभावकारी भएको बोर्डले जनाएको छ ।

