.jpg)
चरित्र निर्माणप्रतिको बुझाई र गम्भीरता ज्यादै कम नेपाली कलाकारहरुमा छ । मनभित्रदेखि गर्नुपर्ने चरित्र निर्माण, अवरणमा मात्र भैरहेको छ । कलाकार भएपछि चरित्रलाई गहिराइमा गएर बझ्न र चरित्रको आवश्यकताअनुरुप आफूलाई अवरणमा पनि तयार गर्न सक्नुपर्छ । यो कुरा बुझेका अभिनेतामा पर्छन्, नाजिर हुसेन । उनी आवरण र अन्तर्य दुवै रुपमा चरित्र निर्माण गर्न सक्छन् ।
पहिलो फिल्म ‘होस्टेल रिर्टन्स’मा मधेशी चरित्रलाई जीवन्त बनाउन उनले गरेको मिहिनेत होस् वा प्रदर्शनको पखाईमा रहेको फिल्म ‘गुलाबी’मा ‘ट्रान्सवुमन’ लुक्समा आफूमा ढाल्न गरेको मिहिनेत, साँच्चै प्रशंसनीय छ । फरक-फरक चरित्रमार्फत् आफूलाई अब्बल प्रमाणित गरिसकेका उनी चाँडै फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वानमा काम गर्दैछन् । यसमा उनको एक्सन भूमिका छ ।
‘ट्रान्सवुमन’को भूमिका निभाउन ‘गुलाबी’का लागि १५ केजी तौल घटाएका उनले ‘अगस्त्य’का लागि २० केजी तौल बढाउनु पर्नेछ । आगामी बैशाखबाट छायांकन सुरु हुन लागेको फिल्मका लागि यतिबेला उनले तौल बढाउन मिहिनेत गरिरहेका छन् । नाजिरले सोमबार फेसबुकमा जिममा डम्बेल उठाएर कसरत गरिरहेको एक भिडियो पोस्ट गर्दै तौल बढाउन लागेको उल्लेख गरेका छन् ।
उनी क्याप्सनमा लेख्छन्, ‘गुलाबी चरित्रको लागि १५ केजी दुब्लाइथ्यो, अब ‘अगस्त्य’मा निशान चरित्रको लागि २० केजी मोटाइन्छ । मेरो दुवै क्यारेक्टर मेकिङको लागि साथ दिने कोच ग्रिस महर्जनलाई धेरै-धेरै धन्यवाद ।’ रोचक कुरा के छ भने यो फिल्ममा नाजिरले तौल बढाउनु पर्नेछ भने अभिनेता सौगात मल्लले भारी तौल घटाउनु पर्नेछ । सौरभ चौधरीले फिल्मको निर्देशन गर्दैछन् ।

