.jpg)
दुई महिनादेखि सुस्ताएको नेपाली फिल्मको बजारलाई शक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ह्यारी कि प्यारी’ले लयमा फर्काउने संकेत देखाएको छ । पहिलो दिन दर्शकको अपेक्षाकृत साथ नपाएको फिल्मले शनिबार दिउँसोबाट भने देशभर ६०/७० प्रतिशत आसपास अकुपेन्सी कायम गरेको छ । गत कात्तिकमा रिलिज भएको फिल्म ‘महापुरुष’पछि हलमा यो अवस्था देखिएको थिएन ।
देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सको लाबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स, छाँया सेन्टर लगायतका मेजर हलमा शनिबार फिल्मको दिवा र रात्रिकालिन शोमा दर्शक अभाव भएनन् । केही शो हाउसफुल समेत भए । राजधानीका बिग मुभिज, वान सिनेमाज्, एफक्यूब, विएसआर, रञ्जना सिनेप्लेक्सलगायतका मल्टीप्लेक्समा पनि शनिबार दर्शकको उपस्थिति राम्रो देखियो ।
त्यसैगरी, शनिबार मोफसलका पोखरा, बुटवल, भैरहवा, चितवन, इटहरी, धरानलगायतका ठूला शहरहरुमा पनि दर्शक उपस्थिति सुखद् देखिएको रिपोर्ट प्राप्त छ । प्रिमियरमा मिलेको सकारात्मक प्रतिक्रिया र ट्रेलरले बढाएको कौतुहलताले दर्शकलाई हलसम्म तानेको देखिन्छ । फिल्मलाई दर्शकले पनि रुचाएका छन् । अब आइतबारदेखिको व्यापार अंकले फिल्मको आयु निर्धारण गर्नेछ ।
शनिबार दिउँसो हाउसफुल दर्शकसँग भेट्न नयाँ बानेश्वरको वान सिनेमाज् पुगेका निर्देशक डा. कपिल रिजाल, कलाकारहरु जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह र विजय बरालले हलमा दर्शक बढ्दै गएकोमा खुसी साट्दै सुखद् प्रतिक्रियाले हौसला र उत्साह मिलेको बताए । ट्रेलर हेर्दा कथा खुलेको महसूस गरेका दर्शकको फिल्म हेरेपछि धारणा नै परिवर्तन भएको साम्राज्ञी बताउँछिन् ।
फिल्म हेर्ने दर्शकले जितु र साम्राज्ञीको जोडी नौलो लागेको भन्दै प्रतिक्रिया दिएका छन् । यसबारेमा जितु खुसी हुँदै भन्छन्, ‘फरक लागोस् भन्ने नै हाम्रो चाहना हो । दर्शकसँग भेट्दा म नराम्रो के लाग्यो भनेर सोध्छु । तर कसैले पनि फिल्म नराम्रो भन्नुभएको छैन ।’ त्यस्तै, निर्देशक रिजालले आफूले फरक चिज गर्ने कोशिश गरेको र त्यसलाई दर्शकले मनपराएको देख्दा खुसी लागेको बताए ।
फरक भूगोल र परिवेशमा हुर्केका दुई पात्रको भेटपछि आउने उतार-चढावमा केन्द्रित रहेको फिल्ममा लक्ष्मी गिरी, सरला रिजाल, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ । फिल्ममा सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन छ । सुदीप बरालले फिल्म खिचेका हुन् ।

