
नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को सहकार्यमा नेपाली कला-संस्कृति प्रवर्द्धनको लागि जर्मनीको बर्लिनमा विशेष कार्यक्रम हुने भएको छ । बिहीबार उक्त कार्यक्रमको बिषयमा डेल्फिक नेपालका अध्यक्ष श्रीदेव बिएलले लण्डन र यूरोपमा रहेका नेपाली कलाकर्मीहरुसँग छलफल गरेका छन् ।
छलफलमा डेल्फिक नेपालका सचिव सुर्य बहादुर रास्कोटी, इनास ग्लोबलका उपाध्यक्ष मनिष श्रेष्ठ, इनास युकेका अध्यक्ष बिनोद चिपालु, लेखक तथा निर्देशक सनम कुमार बैराग, बिकास देवकोटा, कानुन व्यावसायी टम अधिकारी, सिम्मी पुन लगायत सहभागी थिए । नेदरल्याण्ड रहेका इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवाल र नेपालमा रहेका डेल्फिक नेपालका उपाध्यक्ष जीवन पराजुलीले छलफलमा भर्चुअल सहभागिता जनाए ।
मे २०२३ मा हुने कार्यक्रमबारे डेल्फिक नेपालका अध्यक्ष बिएलले भने, ‘नेपालबाहिर रहेर पनि नेपाली कला-संस्कृतिको उत्थान र प्रवर्द्धनका लागि अहोरात्र खटेर योगदान पुर्याउने विशिष्ट श्रस्टा, कलाकर्मी, साहित्यकारको पहिचान गरी उनीहरुलाई उचित सम्मान दिनु हाम्रो कार्यक्रमको उद्देश्य रहनेछ ।’
यो कार्यक्रमबाहेक उत्कृष्ट नेपाली फिल्महरुको छनोट गरी विश्वका विभिन्न राष्ट्रहरुमा नियमित रुपमा प्रचार-प्रसार र प्रदर्शन गर्न एउटा छुट्टै कार्यसमिती बनाउने, नेपाली चलचित्रको वैकल्पिक बजार खोज्ने, नेपाली फिल्मको प्रवर्द्धनका लागि विभिन्न महोत्सव आयोजना गर्नेबारे पनि छलफल भएको अध्यक्ष बिएलले जानकारी दिए ।

