
गत कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’पछि नेपाली फिल्मको बजार सुस्ताएको छ । मंसिर र पुष महिनामा रिलिज भएका कुनै फिल्मले पोस्टर छपाईको पैसा समेत उठाउन सकेनन् । यो दुई महिना नेपाली फिल्मको व्यापारमा देखिएको खडेरीलाई कतिपयले जाडो मौसमको असरको रुपमा विश्लेषण गरेका छन् । तर, अघिल्लो हप्ता रिलिज भएको बलिउड फिल्म ‘पठान’ले नेपालमा गरेको कमाई हेर्दा नेपाली फिल्म जाडोले नभइ कमजोर भएकाले नचलेको प्रमाणित हुन्छ ।
आज शुक्रबारबाट अर्को आशातित फिल्म ‘ह्यारी कि प्यारी’ प्रदर्शनमा आएको छ । विगत दुई/तीन महिनादेखि नेपाली फिल्मले हलमा दर्शक तान्न नसकेको अवस्थामा यसले आशाको किरण छर्ने विश्वास धेरैको छ । जितु नेपाल, साम्राज्ञी आरएल शाह, विजय बराल जस्ता नाम चलेका कलाकारको अभिनय, प्रिमियरमा मिलेको सकारात्मक प्रतिक्रियाको फाइदा फिल्मको इनिसियल व्यापारमा पर्न सक्ने आँकलन गरिएको छ ।
सुस्ताएको नेपाली फिल्मको बजारलाई लयमा फर्काउनका लागि ‘ह्यारी कि प्यारी’को सुखद् प्रदर्शन आवश्यक छ । ‘छक्का पञ्जा’ समुहबाट बाहिरिएर पहिलो पटक मुख्य अभिनेताको रुपमा काम गरेका जितु र लगातार असफलता भोगिरहेकी साम्राज्ञीको खातिर पनि यो फिल्मले राम्रो कमाई गर्नुपर्ने देखिन्छ । त्यस्तै, डा. कपिल रिजालको निर्देशनमा सुखद् डेब्यूका लागि पनि फिल्मको सफलता अपरिहार्य छ ।
बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्देशक रिजाल प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ । फिल्ममा रिजाल स्वयंमको कथा, सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीको पटकथा तथा संवाद लेखन छ । फिल्मले मल्टीप्लेक्सहरुमा सुखद् शो पाएको छ ।

