Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डको स्पष्टिकरण- ‘सूर्य कर्पोरेसनसँग सहकार्य होइन, व्यवस्थापकीय जिम्मेवारी मात्र दिएको हो’

फिल्मीखबर, काठमाडौं, 2023/02/02

विवादित निजी कम्पनी सूर्य कर्पोरेसनलाई चलचित्र विकास बोर्डले दुबईमा ‘नेपाल्स सिनेमा फेस्ट’ गर्ने जिम्मा दिएको भन्दै व्यापक आलोचना हुन थालेपछि बिहीबार विज्ञप्ति जारी गर्दै बोर्डले उक्त कम्पनीसँग सहकार्य नभइ व्यवस्थापकीय जिम्मेवारी मात्र प्रदान गरेको स्पष्टिकरण दिएको छ । फेस्टिभल आयोजनाका लागि ३० लाख विनियोजन भैसकेको पनि बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

 

Nepali-Cinema-Fest-1


फेस्टको खर्चबारे बोर्डको विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रम सम्पन्न गर्नको लागि प्रमुख खर्चहरु जस्तैः लगभग ४० सहभागीहरुको हवाई टिकट खर्च, भिसा शुल्क, होटल बसोबास खर्च, कार्यक्रम हलमा हुने खर्चहरु बोर्डले सोझै सम्बद्ध निकायलाई भुक्तानी दिनेछ ।’ कर्पोरेसनले प्रस्तुत खर्चबाहेक फेस्टिभलको अन्य व्यवस्थापकीय जिम्मेवारी लिने बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेखित छ ।

फेस्टमा दुई नेपाली फिल्महरु ‘ऐना झ्यालको पुतली’ र ‘कबड्डी ४’ प्रदर्शन गरिनेछ । प्रदर्शन पश्चात् फिल्मको टिम र सहभागीबीच छलफल हुने बोर्डको विज्ञप्तिमा उल्लेख छ । माघ २९ गते ‘कबड्डी ४’ प्रदर्शन गरिनेछ भने फागुन १ गते सहभागीहरुले दुबईमा रहेका छायाङ्कन गन्तव्यहरुको अध्ययन अवलोकन भ्रमण गर्नेछन् भने सोही दिन फेस्टको मुख्य कार्यक्रम समेत आयोजना हुनेछ ।

फागुन २ गते नेपाली फिल्मको बजार विस्तार तथा अहिलेको वर्तमान अवस्थाको सन्दर्भमा अन्तरक्रिया, सोही दिन फिल्म सिटी टूर, भेटघाट तथा छलफल कार्यक्रम, फागुन ३ मा दुबईस्थित स्वदेशी तथा विदेशी फिल्मकर्मी, लगानीकर्ता, व्यवसायी, गैरआवासीय नेपाली, नेपाली संघसंस्थाका प्रतिनिधिहरुसँग नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन सम्बन्धी बृहत् अन्तरक्रिया राखिएको छ ।

 

Press Release FDB Dubai Fest 2023



चलचित्र विकास बोर्डले नेपालको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत माघ २९ गतेदेखि फागुन ३ गतेसम्म दुबईमा ‘नेपाल्स सिनेमा फेस्ट’ गर्न लागेको हो । ‘नेपाली सिनेमा र पर्यटनलाई विश्वमाझ लैजाने’ भन्ने मुख्य नारासहित हुन लागेको फेस्टको उद्देश्य नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण र विदेशमा बजार विस्तार गर्नु रहेको बोर्डले विज्ञप्तिमा जनाएको छ ।