
यस वर्षका लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको दोस्रो फिल्म ‘ह्यारी कि प्यारी’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ । पुषमा प्रदर्शन भएको फिल्म ‘तिम्रो मेरो साथ’ले अत्यन्त निराशाजनक नतिजा ल्याउँदा अत्तालिएकी उनलाई यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रियाका साथै बक्सअफिसमा सुखद् अंक जोड्न अपरिहार्य छ, करिअरका खातिर पनि ।
मंगलबार राजधानीमा आयोजना गरिएको प्रिमियरमा मिलेको सकारात्मक प्रतिक्रियाबाट उत्साहित साम्राज्ञी पहिलो पटक ‘ह्यारी कि प्यारी’ हेर्दा कति ठाउँमा आफूले आँसु सम्हाल्न नसकेको बताउँछिन् । ‘फिल्म हेर्दा एकदमै रमाइलो लाग्यो । मैले त पहिलो पटक हेरेकी हुँ । कति ठाउँमा त आँसु आउन लागेको थियो तर मेकअप विग्रन्छ भनेर आफूलाई सम्हालेँ,’ साम्राज्ञीले प्रिमियरमा भनिन् ।
जितु नेपाल, विजय बरालको अभिनयले आफ्नो दिल खुश भएको उनको भनाई छ । अब उनी दर्शक प्रतिक्रिया सुन्न आतुर छिन् । फिल्ममा जितु नेपालसँग आफ्नो ‘आई टू आई’ बोन्डिङ सुरु हुँदाको पार्ट उनलाई सबैभन्दा मन परेको रहेछ । फिल्ममा साम्राज्ञी अस्पताल प्रमुख तथा डाक्टरको भूमिकामा छिन् । उनको जितु नेपालसँग भेट भएपछि आउने उतार-चढावमा फिल्म केन्द्रित छ ।
‘ह्यारी कि प्यारी’बाट निर्देशनमा फड्को मारेका डा. कपिल रिजालले प्रिमियरमा मिलेको सकारात्मक प्रतिक्रियाले हौसला बढेको बताए । फिल्म क्षेत्रका अग्रज व्यक्तित्वले आफ्नो कामको प्रशंसा गर्दा खुसी लागेको र राम्रो काम गरिएछ कि भन्ने महसूस भएको उनको भनाई छ । फिल्मबारे समीक्षकबाट जस्तोसुकै समीक्षा आए पनि आफूले सकारात्मक रुपमा लिने उनले स्पष्ट पारेका छन् ।
कपिल भन्छन्, ‘समीक्षकहरुले फिल्मबारे लेखिदिनु भयो भने न फिल्म क्षेत्र अगाडि बढ्छ । समीक्षकबाट आउने राम्रा-नराम्रा दुवै खालका समीक्षालाई हामीले सकारात्मक रुपमा लिनुपर्छ । समीक्षकबाट आउने सुझावले हामीलाई गल्ती सुधार्ने मौका पनि मिल्छ । समीक्षकले सकारात्मक हिसाबमा हामीलाई सुझाव दिने गरी लेखिदिनुभयो भने हामीले पनि कमी-कमजोरी सुधार गर्दै जानेछौं ।’

