Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा ‘ह्यारी कि प्यारी’ले तारिफ कमायो

फिल्मीखबर, काठमाडौं, 2023/02/01

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको डा. भोला रिजालका छोरा कपिल रिजालको डेब्यू निर्देशित फिल्म ‘ह्यारी कि प्यारी’ले प्रिमियरमा तारिफ कमाएको छ । मंगलबार साँझ बिग मुभिजमा दुईवटा अडिटोरियम ‘बुक’ गरेर आयोजना गरिएको तामझामपूर्ण प्रिमियरमा उपस्थिति भएका अतिथीले कलाकारको अभिनय, निर्देशकिय पाटो, कथावस्तु, छायांकनको प्रशंसामा शब्द खर्चिए ।

 

harry ki pyari


कलाकार मदनकृष्ण श्रेष्ठले आफूले सोचेको भन्दा राम्रो फिल्म बनेको प्रतिक्रिया दिए । उनले भने, ‘फिल्म नराम्रो भए पनि गजब छ भनेर भन्नुपर्ला भन्ने लागेको थियो । तर, मैले सोचेको भन्दा कति राम्रो रहेछ कति राम्रो । आफूले विचार नै गर्न नसकेको विषयबाट फिल्म अगाडि बढेको छ । एकछिन पनि कतै ध्यान हट्न दिँदैन । जितु नेपाललाई ह्यारीको क्यारेक्टरमा एकदमै सुहाएको लाग्यो ।’

कलाकार सन्तोष पन्त पनि जितुको अभिनयको प्रशंसा गरेर थाकेनन् । ‘फिल्ममा जितुलाई मनको हिरो बनाइएको छ । उहाँले गाउँ र शहरको जीवनलाई सन्तुलित रुपमा न्यायपूर्वक निभाउनु भएको छ । अभिनय एकदमै राम्रो छ । गम्भीर रोल जितुलाई सुहाउँदो रहेछ । साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय पनि मनपर्‍यो । हरेक पात्रले आ-आफ्नो भूमिकामा न्याय गर्नुभएको छ,’ उनले भने ।

दीपाश्री निरौलाले एकदमै फिल्म राम्रो बनेको बताउँदै जितुले एकपटक फेरि आफूलाई अभिनयमा प्रमाणित गरेको बताइन् । उनले सञ्चारकर्मीसँग भनिन्, ‘यस्ता राम्रा-राम्रा फिल्म बन्यो भने नेपाली फिल्मले नै जरो गाँड्छ । जितुको त म पहिलादेखि नै फ्यान हो । जितुलाई मैले अभिनय गराउँदाखेरी ऊ रोइरहँदा म पनि रोइरहेको हुन्थ्येँ । फिल्मको केही इमोसनल दृश्यमा म भावुक पनि भएँ ।’

उनले साम्राज्ञी, निर्देशक कपिल रिजाल र छायांकन सुदीप बरालको कामको पनि प्रशंसा गरिन् । कलाकार केदार घिमिरेले फिल्म साँचिक्कै राम्रो बनेको प्रतिक्रिया दिँदा कलाकार तथा निर्माता दीपकराज गिरीले ‘ह्यारी कि प्यारी’लाई राम्रो र नराम्रो केही भनेनन् । बरु, उनले जितु जहाँ भए पनि आफूहरुको शुभेक्षा रहिरहने बताए । उनले जितु, कपिल र साम्राज्ञीलाई बधाई भने दिएका थिए ।

 

harry ki pyari


कलाकार किरण केसी भने जितुले यो फिल्ममा काम गर्न लागेको सुनेदेखि एकदमै डराएका रहेछन् । तर, फिल्म हेरेपछि डरमुक्त भएको उनले बताए । निर्देशकले सानो-सानो कुरामा ध्यान दिएको भन्दै उनले अन्य कलाकारहरुको अभिनयको पनि प्रशंसा गरे । निर्माता तथा निर्देशक आकाश अधिकारीले धेरैपछि मनछुने लभस्टोरी हेर्न पाएकोमा खुसी व्यक्त गर्दै फिल्म पृथक बनेको बताए ।

प्रिमियरमा अतिथीको रुपमा उपस्थिति भएका रमेश उप्रेती, शिवहरी पौडेल, यश कुमार, प्रकाश सुवेदी, कृष्ण कँडेल, टिकाराम यात्रीलगायतले पनि फिल्म मनछुने बनेको भन्दै प्रशंसा गरेका थिए । अतिथीबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित भएका निर्देशक रिजाल दर्शकलाई पनि फिल्म मनपर्नेमा विश्वस्त देखिए । फिल्मले दुई फरक जीवन बाँचिरहेका पात्रको प्रेमकथा बोल्छ ।