नेपाली फिल्मका प्रिमियर प्रायः भव्य हुन्छन् तर व्यवस्थित हुँदैनन् । दुईटा हलमा पनि नअट्ने गरी गुनगान सुन्न प्रिमियरमा अतिथी बोलाइन्छ अनि एउटै हलभित्र सबैलाई कोचिन्छ । जब सिट अभाव हुन्छ अनि हलको सिढीमा बसेर अतिथीले फिल्म हेर्नु पर्ने हुन्छ । त्यसबेला प्रिमियर कम, माछा बजार बढी लाग्ने गर्छ । अतिथीको भिडभाड रहेको अवस्थामा त झन् पत्रकारलाई मान्छे नै गनिन्न ।
मंगलबार काठमाडौंको बिग मुभिजमा दुईवटा हल ‘बुक’ गरेर फिल्म ‘ह्यारी कि प्यारी’को प्रिमियर राखिएको थियो । प्रिमियरलाई भव्य बनाउन निर्माताले कुनै कसर छाडेका थिएनन् । तर, व्यवस्थापन फितलो हुँदा न अतिथी न पत्रकारको राम्रोसँग व्यवस्थापन हुन सकेको थियो । अतिथी र पत्रकारलाई एउटा हलबाट अर्को हलमा नचाएको दृश्यले त्यति भव्य प्रिमियर खल्लो बनेको थियो ।
थेगिनसक्नु अतिथी बोलाइएकाले बिग मुभिजको ३ नम्बर हल चाँडै नै भरिएको थियो । तर, त्यसको जानकारी नहुँदा फिल्मकर्मी र पत्रकारहरु ३ नम्बर हलमै छिरिरहेका थिए । हलको सिढीको टुप्पामा बसेर फिल्मका एक सदस्यले भने फिल्मकर्मी र पत्रकारलाई अपमानित र रुखो शैलीमा धपाइरहेका थिए । उनको व्यवहारले यस्तो लाग्थ्यो, ३ नम्बर हलमा प्रवेश गर्नु भनेको ठूलो अपराध हो ।
ती व्यक्तिको व्यवहार चित्त नबुझेपछि एक पत्रकारले आग्रह गर्दै भने, ‘कमसेकम अतिथीलाई सम्मान त गरिदिनुहोस् ।’ तर, उनले त्यो सुन्नै चाहेनन् । बरु, भैंसी-बाख्रा जस्तो गरी ‘उता उता’ भन्दै अतिथीलाई धपाइरहे । उनको रुखो व्यवहार धेरैलाई चित्त बुझेको थिएन तर कोही बोल्न सकेनन् र बिग मुभिजको २ नम्बर हलको ढोका खुल्यो । त्यहाँ पनि पत्रकारलाई धपाउने काम रोकिएन ।
हलका एक कर्मचारीलाई खटाएर २ नम्बर हलको दुईवटा रोहमा कसैलाई बस्न नदिने आदेश दिइएको रहेछ । ती कर्मचारीले पनि आदेश पालना गर्दै हलको माथिल्लो दुईवटा रोहमा कसैलाई बस्न नदिन सक्दो प्रयास गरे तर पत्रकार आक्रोशित भएपछि उनको केही दाल गलेन । सबैले सिट सुरक्षित गरेपछि निर्माण टिमले सम्मानभाव राख्दै पत्रकार खोज्न थाल्यो र ३ नम्बर हलमा बोलायो ।
तर, प्रिमियरमा अपमानित महसूस गरेका पत्रकारले ३ नम्बर हलमा नजाने निर्णय गरे । अन्ततः फिल्मको टिम नै झुक्न बाध्य भयो । र, पत्रकारले भरिएको २ नम्बर हलमै निर्देशकदेखि कलाकारसम्म हात जोड्दै आइपुगे । सम्मान गर्न आउँदैन भने कसैमाथि अपमानित व्यवहार पनि गर्नु हुँदैन । त्यसमाथि पत्रकारलाई गरेको अपमान भारी पर्छ । यो कुरा सबै फिल्मकर्मीले बुझ्न जरुरी छ ।

