.jpg)
विवादित निजी कम्पनी सूर्ये कर्पोरेसनसँग सहकार्य गरेर चलचित्र विकास बोर्डले यही फेब्रअरी १२ देखि १५ तारिखसम्म दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट’ संकटन्मुख छ । बोर्डले ३० लाखमा विवादित कम्पनीलाई फेस्टिभल गर्ने जिम्मेवारी दिएको भन्दै बहिष्कार गर्ने क्रम सुरु भएको छ । फिल्म ‘महापुरुष’ले अनुमति विना नाम राखिएको भन्दै फेस्टिभल बहिष्कार गरिसकेको छ ।
त्यस्तै, फेस्टिभलमा अभिनेता तथा पाइलट विजय लामा अतिथीको रुपमा सहभागी हुने भनेर आयोजकले पोस्टरमा तस्बिर राखेर प्रचार गरेपछि उनले पनि सहभागी नहुने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले लिखित स्वीकृति विना नै तस्बिर प्रयोग गरिएकोप्रति आपत्ति जनाउँदै फेस्टिभलसँग आफ्नो कुनै संलग्नता नभएको र सहभागी नहुने बताएका छन् ।
लामाले लेखेका छन्, ‘केही समययता यो कार्यक्रमलाई लिएर विवादस्पद कुराहरु अनि समाचारहरु सामाजिक सञ्जालमा छ्याप-छ्याप्ती देख्न थालेको छ । अचम्मको कुरा के भने मेरो पनि तस्बिर पोस्टरमा देखेँ । न मलाई यसबारे जानकारी नै छ न निमन्त्रणा नै छ न मलाई सहभागिता जनाउन समय नै छ । यसरी लिखित स्वीकृति बिनानै मेरो तस्बिर चलाएर राख्नु कतिको उचित हुन्छ ?’
उनले आइन्दा कसैले आफ्नो तस्बिर पूर्व सुचना या स्वीकृति लिएर मात्र प्रयोग गर्न आग्रह गरेका छन् । अनुमति विना कलाकारको तस्बिर पोस्टरमा प्रयोग गर्नु र स्वीकृति विना फेस्टिभलमा प्रदर्शन हुने भन्दै फिल्मको नाम उल्लेख गर्नु आयोजक संस्था चलचित्र विकास बोर्ड र सूर्ये कर्पोरेसनको गैरजिम्मेवारीपन हो । यो फेस्टिभलले बोर्डलाई समेत नराम्रोसँग विवादमा तान्ने काम गरेको छ ।

