Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘ह्यारी कि प्यारी’मा छोरा निर्देशक, आमा-बुबा कलाकार

फिल्मीखबर, काठमाडौं, 2023/01/31

bhola rijal and kapil rijal

 

डा. भोला रिजाललाई चिकित्सकको रुपमा मात्र चिन्दा अन्याय हुन सक्छ । उनको परिचयको आयाम फराकिलो छ । उनी फिल्म निर्माता, लेखक तथा गीतकार पनि हुन् । एक समय ‘छोरी बुहारी’, ‘एक नम्बरको पाखे’, ‘साथी’ जस्ता सफल फिल्मको निर्माण गरेका उनी विगत केही वर्षयता फिल्म निर्माणभन्दा पेशागत क्षेत्रमा व्यस्त थिए । यद्यपि, उनले गीत लेखन भने रोकेका थिएनन् ।

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्यारी कि प्यारी’बाट डा. रिजालले लामो समयपछि निर्माणमा पुनरागमन गरेका छन् । फिल्मलाई उनकै छोरा कपिल रिजालले निर्देशन गरेका हुन् । भोला रिजाल यो फिल्मका निर्माता मात्र होइनन्, कलाकार पनि हुन् । फिल्ममा उनको डाक्टरकै भूमिकामा करिब एक-डेढ मिनेटको दृश्य छ, जसमा उनको अभिनय स्वभाविक नै लाग्छ ।

फिल्ममा भोला रिजालकी श्रीमती सरला घिमिरेको पनि अभिनय छ, त्यो पनि मुख्य भूमिका । उनले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकी हजुरआमाको भूमिका निर्वाह गरेकी छन् । उनको डबिङ भने अभिनेत्री गौरी मल्लले गरेकी छन् । सम्भवतः पहिलो पटक भोला रिजाल दाम्पतीले फिल्ममा अभिनय गरेका हुन् । र, आफ्ना आमा-बुबालाई एक्सन-कट भन्ने सौभाग्य कपिलले पाएका छन् ।

मंगलबार साँझ फिल्म ‘ह्यारी कि प्यारी’को काठमाडौंस्थित बिग मुभिजमा प्रिमियर राखिएको थियो, जहाँ अघिल्लो पुस्तादेखि नयाँ छिमलसम्मका कलाकार तथा निर्माता-निर्देशकहरुको उल्लेख्य उपस्थिति थियो । फिल्म हेर्ने सबैले प्रशंसामा शब्द खर्चिए । हुन त प्रिमियरमा पुग्ने अतिथीले फिल्मको कमजोरी औंल्याएका घटना छैनन् । पत्रकारबाट भने फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ ।